काठमाडौं, २७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ बार्गेनिङ गर्ने गोकुल बास्कोटालाई सार्वजनिक लेखा समिति सदस्यमा सिफारिस गरेको छ ।
सेक्युरिटि प्रेस खरिद प्रकरणमा बास्कोटालाई छानबीन गर्न भन्दै समितिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा विवादास्पद सिफारिस गरिएको हो ।
बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादित बनेका थिए । लेखा समितिले खरिद प्रकरणमा त्रुटि रहेको भन्दै थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । समितिले यससम्बन्धी छानबिनको प्रगति विवरण माग गर्दै केही महिनाअघि आयोगलाई पत्र लेखेको थियो ।
तर, सत्तारुढ दल प्रधानमन्त्री केपी ओलीका अत्यन्त निकट पात्र भएका कारण उनीमाथि अख्तियाले छानबीन गर्ने आँट समेत गरेको छैन । त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीकै बालकोटस्थित निवासमा बाँस्कोटा रहने गरेका छन् ।
त्यस्तै कोरोना महामारीका बेला मेडिकल सामग्रीमा खरिदकाण्डमा मुछिएका ईश्वर पोखरेलका अति निकट सांसद राजेन्द्र गौतम पनि लेखा समिति सदस्यमा सिफारिस भएका छन् ।
ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री पोखरेलका निकट गौतमलाई पनि लेखा समिति सदस्यमा राख्न एमाले संसदीय दलले बुधबार संसद् सचिवालयलाई सिफारिस गरेको हो ।
यसअघि कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेका गौतमलाई पनि लेखा समितिमा ल्याउन पोखरेलकै दबाव रहेको स्रोत बताउँछ ।
स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीलाई ठेक्का दिइएको विषयमा उपप्रधानमन्त्री पोखरेल विवादमा तानिएका थिए । यो प्रकरणमा पनि लेखा समितिले अनियमितता औंल्याएर थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो । पोखरेल र तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कारबाही गर्न अख्तियारमा सिफारिस गरिएको हो ।