बागमती सरकारमा ‘भ्रष्टाचार’ : चार्जिङ स्टेशन छैन, ६० करोडको विद्युतिय बस खरिदको ठेक्का !

दियो पोस्ट  

काठमाडौं, २७ चैत्र । रेलको ट्रयाक नबन्दै सरकारले खरिद गरेको रेल यतिबेला घुम्टो ओढेर बसिरहेको छ ।


मुआब्जा समेत निर्धारण नहुँदै १७ अर्बभन्दा बढीको ठेक्का सेटिङमै गर्दा रेल–वे ठूलो कमिशनको खेलको पोल खुलेपछि ठेक्का नै रद्द भयो । प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्तिहरुकै समलग्नतामा अर्बौंको घोटाला हुने देखिएपछि विभिन्न सञ्चार माध्यममा खबर प्रकाशित भयो ।

फलस्वरुप सरकारले लज्जास्पद रुपमा टेण्डर नै रद्द गर्नुपरेको थियो । ठीक त्यस्तै पूर्वाधार नै तयार नहुँदै अर्थात चार्जिङ स्टेशन नै नबन्दै बागमती प्रदेश सरकारले ६० करोड रुपैयाँ भन्दा बढी लगानीमा विद्युतिय बस खरिदको प्रक्रिया शुरु गरेको छ । यो बस पनि घुम्टो ओढाएर राख्नुपर्ने अवस्थामा पुग्ने खतरा बढेको छ ।

गत ८ चैत्रमा अन्तर्राष्ट्रिय बोलपत्र गर्दै बागतमी प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाल र मुख्य मन्त्री डोरमणी पौडेलको जोडबलमा ठेक्का निकालिएको थियो ।

संसदको सार्वजनिक लेखा समितिले बस खरिद प्रक्रिया अघि नबढाउन दिएको निर्देशनलाई समेत लत्याउँदै मन्त्री फुयाँल र मुख्यमन्त्री पौडेलको सेटिङमा ठेक्का अघि बढाइएको हो । मन्त्रालयले बस खरिदका लागि भन्दै १० करोड रुपैयाँ बजेट नै बिनियोजन गरिसकेको पाइएको छ ।


लेखा समितिले सरकारलाई गत भदौ २८ मा तत्काल बस किन्ने प्रक्रिया अगाडि नबढाउन तथा स्पष्ट कानुन र सञ्चालन हुने वातावरण तयार गर्न निर्देशन दिएको थियो ।

समितिको निर्णयलाई बेवास्ता गर्दै प्रदेश सरकारले ३० वटा बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले लेखा समितिले दिएको निर्देशन विपरित बस खरिदका लागि भन्दै यातयात व्यवस्थापन तथा सञ्चालन बोर्ड नै गठन गरेका छन् ।


बस खरिदमा अनियमितता देखिएको भन्दै वागमती प्रदेश सांसदहरुले संसद बैठक नै अवरुद्ध गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले जिम्मेवार ढंगले जवाफ नदिएको आरोप लगाएका थिए ।


‘चार्जिङ स्टेसन मात्रै होइन ट्रान्समिसन समेत छैन । यस्तो स्थितिमा कसरी विद्युतिय बस चल्न सक्छ भनेर लेखा समितिले खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो,’ नेपाली कांग्रेसका एक सांसदले भने,‘तर, सरकाले सुटुक्क खरिद प्रक्रिया अघि बढाउँदा कमिशनको गन्ध आएको छ । भ्रष्टाचार आशंका हामीलाई छ ।’

दीपक निरौला

स्रोतकाअनुसार वागतमी प्रदेश सभा सदस्य तथा प्रदेश मामिला संसदीय समितिका सदस्य दिपक निरौला भारतका विभिन्न स्थान पुगेका थिए । उनै निरौलाले व्यापारीहरुसँग राहस्यमयी सेटिङ मिलाएर व्यापारीलाई नै अनुकुल हुनेगरि सेटिङमा ठेक्का निकालेका थिए । गत मार्च २१ मा प्रकाशित ठेक्का सुचना सेटिङमै प्रकाशित भएको स्रोतले बतायो ।

रामेश्वर फुयाँल


काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद निरौला नेकपा एमाले ओली समुहका व्यक्ति हुन् । ओली समुहका नेता तथा प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री रामेश्वर फुयालले नै निरौलालाई बस खरिदका लागि अन्तर्राष्ट्रि बिचौलियासँग उठबस गराएको स्रोत बताउँछ ।

यस विषयमा प्रतिक्रिया लिन सांसद निरौलाको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सिफारिस