धादिङ, २८ चैत्र । धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीस्थित बीचबजारका एक दलित परिवारमाथि मेयर भीम प्रसाद ढुंगानाको मिलेमतोमा चरम ज्यादती भएको पाइएको छ ।
२०५५ सालमा किनेको जग्गामा टहरो बनाएर बसेकी मीरा बराइलीको परिवारलाई ढुंगानाको मिलेमतोमा घर भित्रै नाली र फोहोर पानीको बाढी पसाइएको छ ।
‘घरभित्र फोहोर पानी मात्रै पसेन, दुर्गन्ध पनि पस्यो । खानाखानै सकिएन,’ मीराले केही दिनअघि नयाँ पत्रिका दैनिकसँग भनेकी थिइन्, ‘यसपछि टोलवासीलाई नालीको पानी मेरो घरभित्र आएको र त्यसलाई व्यवस्थापन गर्न अनुरोध गरेँ, तर उनीहरूले मानेन् । उल्टै नाली हाल्न पाउनुपर्छ भने ।’
धादिङको दार्खा तिरका केही युवालाई प्रयोग गरेर ढुंगानाले पीडित दलित परिवारको घरमा ढल पस्दा समेत उल्टै ज्यादती र धम्की दिएको पाइएको छ ।

टोलबासीको नाममा केही व्यक्तिले उनको जग्गाबाटै फोहोर पानी र ढल निकास गर्ने र उक्त जगाको मुल्य तिर्ने बताएका थिए । पीडित परिवारले २० लाख रुपैयाँ क्षतिपूर्ति दिए ढल निकासको लागि बाटो छोडिदिने बताएका थिए । तर, स्थानिय टोलबासीले क्षतिपूर्ति नदिने बताएका थिए ।
उनको घरमा ढल निकास गर्नेहरुले नै पहुँचको दुरुपयोग गर्दै न्यायीक समितिमा उजुरी गरिदिएका थिए । उनको जेठाजु मिठे बराइलीलाई विपक्षी बनाएर टोलबासीको नाममा एउटा उजुरी परेको थियो ।
गत २८ भदौमा न्यायिक समितिमा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘कसैको हकवा स्वामित्वमा भएपनि २८–३० वर्षदेखि पानीको पाइप निकासामा सबै घरधुरीको धाराबाट निस्कने भाँडा माझ्दा, नुहाइ धुवाइ गर्दा र आकाशको पानी पर्दा कित्ता नम्बर ४७६४ जग्गाबाट पानीको निकास हुँदै कित्ता नम्बर २६४३ मा निकासा भइरहेकोमा हाल उक्त पाइप पुरानो भई नयाँपाइप बिछ्याएपछि कित्ता नं. २६४३ को जग्गाधनीले उक्तपाइप काटेर फालिदियो ।’

उजुरीकर्तामा अनिता अधिकारी, चन्द्र भण्डारी, सीता अधिकारी, शोभा राना छन्। तर, मीरा भने त्यहाँ पुरानो पाइप नभएको र अचानक नयाँ पाइप राखेपछि जेठाजु मिठे बराइलीले काटिदिएको बताउँछिन् ।

स्थानिय टोलबासी र बराइली परिवारबीच पटक पटक वार्ता भएपनि कुनै निष्कर्श निस्कन भने सकेको थिएन । निलकण्ठका केही व्यक्तिले ‘पर्खाल खोलिपाऊँ’ भनेर गत ३ चैतमा टोलवासीले न्यायिक समितिमा उजुरी दिएका थिए । ६ चैतमा बराइली परिवारले पनि समितिमा उजुरी विरुद्ध उजुरी हाल्यो । वार्ता भयो तर सहमति भएन । मीरा गत चैत्र ९ गते उनीहरुलाई समेत जानकारी नै नदिई मेयर ढुंगानाको आडमा पर्खाल भत्काइएको थियो ।
‘जग्गै किनेपछि तपाईंहरुले जे जे गरेपनि भो । तपाईंहरु पनि टोलबासी हो । साढे २ आना जग्गा किनिदिनुस् भन्दै हामीले याचना गर्यौँ,’ पीडित परिवारका मिठे बराइलीले भने,‘छलफलमा मेयर आफै आए र एक पैसा पनि क्षतिपूर्ति पाउँदैन भन्दै धम्काउनु भयो । उनैले तुरुन्त भत्का भनेर आदेश दिए । र ती युवाहरुले भत्काए । उनीहरुलाई किन भत्काएको भनेर सोध्दा हामीले भत्काउने भए यसअघि नै भत्काउँथ्यौँ अंकल मेयरले नै आएर भत्काउ भनेपछि भत्काएका हौँ भन्ने जवाफ दिए ।’
मेयर ढुंगानाले न्यायीक समितिमा समेत हुकुमी पारामा धम्काएको पीडित परिवारको आरोप छ ।
‘हामीले हुकुमी शासन किन भन्ने प्रश्न गर्दा मेयरले मैले भत्काउन लगाएको हुँ ल जा मेरो नाममा उजुर गर भन्दै धम्काए,’ बराइलीले सुनाए,‘हामी दलित भनेर उहाँले हेप्नु भएको हो । हाम्रो पैतृक सम्पत्तिमा समेत हामीले हकभोग गर्न पाएनौँ ।’