काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सम्बन्धी मापदण्ड उलंघन गरेर बालुवाटारमै पुजापाठ गरेका छन् ।
मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा २५ जना भन्दाबढीको भेला पारेर प्रधानमन्त्री ओलीले तामझाम सहित पुजाआजा गरेका हुन् ।
प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यसहित उच्च अधिकारी समलग्न भएर
‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरिएको हो ।
बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने स्वास्थ्य मापदण्ड बनाएको थियो । यदि सर्वसाधरणले सरकारले बनाएको मापदण्ड उलंघन गरे प्रहरी लगाएर कारबाही गरिन्छ ।
सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले सो मापदण्ड सार्वजनिक गर्दै उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिएका थिए ।
मन्त्रिपरिषद बैठकले गरेको निर्णय सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली उखान जस्तै बन्ने देखिएको छ ।
सरकारले धार्मिक गतिविधि गर्दा समेत २५ जनाभन्दा कम संख्यामा २ मिटरको दूरी कायम गरेर मापदण्डको पालना गर्न उर्दी जारी गरेको छ । तर प्रधानमन्त्री ओलीलेउद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिने तयारी छ ।
बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पूजाआजापछि राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु हस्तान्तरण गरेका थिए । ती मुर्तीहरु रथ यात्राका साथ माडीमा पुर्याएर रामनवमिका प्रतिस्थापन गर्ने कार्यक्रम छ ।
काठमाडौंदेखि चितवनसम्म गरिने रथयात्रामा तामझाम र भीडभाड अरु बढ्ने देखिएको छ ।
आश्चर्य त के छ भने कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा चुनाव जितेका प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो खस्कँदो जनमत जोगाउन धार्मिक गतिविधिको सहारा लिन थालेका छन् ।