अर्बौं भ्रष्टाचार गरेपनि एक करोड बुझाएर छुटेका चुडामणी शर्मा फेरी अख्तियारको फन्दामा !

अर्बौं भ्रष्टाचार गरेपनि एक करोड बुझाएर छुटेका चुडामणी शर्मा फेरी अख्तियारको फन्दामा !

काठमाडौं, ८ वैशाख । २३ अर्बभन्दा बढी कर छुट दिएर अर्बौं भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय समेत भोगेर आएका सहसचिव चुडामणी शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरी तानेको छ ।


विभिन्न व्यक्तिको मिलेमतोमा ठूला कम्पनिहरुलाई कर फर्छ्यौट आयोग मार्फत २३ अर्बभन्दा बढी छुट दिएर अर्बौं भ्रष्टाचार गरेको अभियोगमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले ३ अर्ब धरौटी माग गरेपनि विशेष अदालतमा सेटिङ मिलाएर शर्मा १ करोड धरौटीमै छुटेका थिए । उनै शर्मालाई अख्तियारले ७ दिन भित्र उपस्थित भएर बयान दिन सार्वजनिक सुचना नै जारी गरेको छ ।


कर फर्छयौट आयोग बनाई २०७१ सालमा कर फर्छौटका लागि सम्झौत भएका विभिन्न कर दाताहरुसँग गैरकानुनी तवरबाट कर फर्छौट सम्झौता गरि राज्यलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा उनलाई फेरी अनुसन्धानका लागि बयानमा बोलाइएको सुचनामा उल्लेख छ ।


उनलाई अख्तियारले ७ दिन भित्र अख्तियारको ११४ नम्बर बोठामा सम्पर्क गर्न सुचना गरेको छ । यदि सुचना अनुसार उनी आयोगको कार्यालयमा नआए कानुन अनुसार पक्राउ गरिने समेत आयोगले जनाएको छ ।

२०७१ सालमा तत्कालिन अर्थमन्त्री रामशरण महतले कर फस्र्यौट आयोग गठन गरेका थिए । चार्टड एकाउन्टेन्ड लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा चार्टड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । शर्मा भने सदस्यसचिव थिए । सिद्धान्ततः अधिकतम ‘बक्यौता’ उठाउन र नाममात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीले भने निजी कम्पनीहरुलाई ९० प्रतिशतभन्दा बढी कर छुट दिएर नाम मात्रैको बक्यौता उठाएका हुन् ।

४० अर्ब ८३ करोड रुपैंयाको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैंया फस्र्यौट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैंयाँमात्रै राज्यकोषमा आएको छ । फस्र्यौट भएकोबाट करिव ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ ।

Trending News