प्रधानमन्त्रीको दुईथरी आसन : नेपाली नेतासँग उपरखुट्टी, भारतीय पत्रकारसँग ‘तोम शरणम्’ !

दियोपोस्ट संवाददाता

काठमाडौं, ९ वैशाख । राजनीति र कुटनीतिमा ‘बडि ल्याङ्ग्वेज’ ठूलो अर्थ र महत्व हुन्छ । ठूला नेताहरुको शरिरको हाउभाउ र अवस्थितिलाई लिएर विभिन्न टिप्पणी हुने गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच मेरियट होटलमा भेटघाट भयो । लामो समयदेखिको संवादहिनतालाई तोड्दै दुई नेताबीच भेटवार्ता भएपछि राजनीति र मिडिया बृत्तमा निकै चर्चाको विषय बन्यो–प्रधानमन्त्रीको बडि ल्याङ्ग्वेज’ ।


प्रधानमन्त्री ओलीसँगै रहेका माधव नेपाल शालिन र भद्र हिराबले दुवै खुट्टा तल झारेर बसेका देखिन्थे । राजनीतिक हिसाबले लामो समय नेपालको कार्यकर्ता रहेका ओलीको आशन भने अचम्मको थियो । उनले नेपाल तर्फ फर्किएर उपरखुट्टि लगाएर बसेको तस्विर प्रधानमन्त्रीको सचिवालयबाटै भाइरल बनाइएको थियो ।

प्रधानमन्त्री ओलीको आशन यसअघि विवादित नबनेको भने होइन । उनले सार्वजनिक मञ्चमै उपराष्ट्रपति नन्द बहादुर पुनलाई दुर्व्यबहार गरेका थिए । तत्कालिन सभामुख ओनसरी घर्तिलाई भेट्न गएका ओलीले त्यतिबेला नै उपरखुट्टी लगाएर बसेको तस्विर भाइरल भएको थियो ।


बुधबार नेपालसँग ओलीको उपरखुट्टी आसनलाई भने भारतीय पत्रकारसँग तुलना भएको छ । प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणमा बालुवाटार आएका भारतीय पत्रकार सुधिर चौधरीसँग भेटका क्रममा प्रधानमन्त्री ओली मर्यादित अवस्थामा बसेका थिए । तर, उनीसँग अन्तर्वार्ता लिने जी न्युजका पत्रकार चौधरी भने उपरखुट्टी लगाएर बसेका थिए । उनीहरु दुईबीचका तस्विर यतिबेला भाइरल बन्न थालेको छ ।

प्रधानमन्त्रीको अन्तर्वार्ता लिन बालुवाटारमा रातो कार्पेटमा स्वागत पाएका चौधरी ओली निकट व्यापारी रामेश्वर थापाकै लगानीमा सर्वोच्च शिखर सगरमाथा पुगेका थिए । सगरमाथाको आधारशिविरमा पुगेर उनले नेपाली भूमिको सगरमाथामा भारतको समेत दाबी हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिए ।

उनै चौधरी प्रधानमन्त्री ओलीसँग उपरखुट्टी आसनमा बसेका थिए भने ओली मर्यादित अवस्थामा थिए । तर, आफ्नै पार्टीको विगत १५ वर्ष नेतृत्व सम्हालेका बरिष्ठ नेता माधव नेपालसँग भने उनले उपरखुट्टी लगाएर बसेको तस्विरलाई लिएर सामािजक सञ्जालमा तिब्र आलोचना भइरहेको छ ।


सन् २०१५ मा तत्कालिन नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री ओली र तत्कालिन भारतीय राजदूत रञ्जित रेबीचको भेटवार्ता पनि त्यतिबेलै विवादित भएको थियो । रे अघि ओली शालिन र मर्यादित अवस्थामा देखिन्थे । यता भारतीय राजदूत रे भने उपरखुट्टी लगाएर बसेका थिए ।


यसरी हेर्दा हाम्रो प्रधानमन्त्रीको आसन दुई थरिको देखिएको छ । भारतीय पत्रकारदेखि राजदूतसँग उनी ‘तोम् शरणम्’ भएर मर्यादित बसेका छन् । यता नेपालमा आफुभन्दा सिनियर नेतासँगका भेटमा उनी उपरखुट्टीमा देखिने गरेका छन् ।

सम्बन्धित खबर