काठमाडौँ उपत्यकामा लकडाउन लगाउने तयारी

दियो पोस्ट  

शहरमा ५०० र ग्रामीण क्षेत्रमा २०० सक्रिय संक्रमित पुगे निषेधाज्ञा

काठमाडौँ,१२ बैशाख । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शहरी क्षेत्रमा एक दिनमा पाँच सय संक्रमित नाघेको अवस्थामा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने सिफारिस गरे सँगै उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुले सोही अनुसारको तयारी थालेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले सो बारेमा पनि सामान्य छलफल गरेको थियो । आइतबारको बैठकले नै एक साताका लागि जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरिसकेको छ ।

सीसीएमसीले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएसँगै उपत्यकामा निषेधाज्ञा जारी हुने सम्भावना बढेको छ । काठमाडौँमा दिनहुँ सात सय भन्दा बढी संक्रमित थपिरहेको अवस्थामा निषेधाज्ञा जारी हुने सम्भावना बढेको छ । यसबारेमा निर्णय गर्न भोलि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

सिफारिस