काठमाडौं,१२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा कोरोना भाइरसका संक्रमित थपिँदै गए केही दिनमा अस्पतालहरूमा बिरामी राख्ने ठाउँसम्म नहुने बताएको छ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमणको चक्रलाई रोक्न नसके अस्पतालहरूमा बिरामी भरिभराउन हुने उल्लेख गरेका हुन्।
‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन्। संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैंलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन,’ उनले भनेका छन्, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं।’
उनले मास्क लगाउने र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेका छन्। आइतबार नेपालमा तीन हजार एक सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा मात्रै एक हजार एक सय ३२ जनामा कोरोना देखिएको छ।
