काठमाडौँ, १३ बैशाख । काठमाडौ उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) को संयुक्त बैठक जारी छ ।
उपत्यकामा कोरोना संक्रमण दर बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा काठमाडौँका सिडीओ कालीप्रसाद पराजुली, ललितपुरका ढुण्डी प्रसाद निरौला र भक्तपुरका खेमप्रसाद भट्टराई संयुक्त छलफलमा जुटेका हुन् ।
बैठकमा कोरोना महामारीको चेन ब्रेकका लागि निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उपत्यकामा निषेधाज्ञा जारी गर्ने सम्बन्धमा तीन सिडीओहरुलाई निर्णय गर्ने अधिकार दिएको हो ।
सोहीबमोजिम उपत्यकाका तीन जिल्लाका सिडीओहरुले छलफल थालेका हुन् । छलफल चलिरहेको र तत्काल निषेधाज्ञा जारी गर्ने सम्बन्धमा कुनैपनि सिफारिस नगरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । ‘छलफल जारी छ, कुनै ठोस निर्णय भएमा सार्वजनिक गर्नेछौँ’ उनले भने ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा दिनहुँ पाँच सय भन्दा बढी कोरोना संक्रमित थपिँदै गर्दा निषेधाज्ञा जारी हुन सक्ने सम्भावना बढेको हो ।
कोरोनाबाट थलिएको अर्थतन्त्र बिस्तारै उठ्न खोजिरहेका बेला सरकार भने लकडाउन र निषेधाज्ञा सकेसम्म नगर्ने पक्षमा रहेको छ ।