काठमाडौँ, १३ बैशाख । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा टेबुल हुने भएको छ ।
विपक्षी दल कांग्रेस र माओवादीले माग गरेको विशेष अधिवेशन बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान भएको आज सोमबारको बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुने भएको हो ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यसूचि अनुसार पहिले प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीलाई सम्बोधन गर्ने भएका छन् ।
नेता पोखरेललाई प्रस्तावित मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ । त्यसलगत्तै बहालवाला मुख्यमन्त्री गुरुङको सम्बोधन हुने छ ।
अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जनाले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री गुरुङको पक्षमा एमालेबाट २७ सदस्य छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन मुख्यमन्त्री गुरुङलाई ३१ मत चाहिने छ ।
जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीमा गुरुङ सरकार अल्पमतमा परेको थियो ।
मनाङबाट स्वतन्त्र जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे तत्कालीन नेकपामा प्रवेश गरेको भएपनि हाल आफू स्वतन्त्र नै रहेको बताउँदै आएका छन्
जसपाले अविश्वासको प्रस्ताव टेबुल हुनुअघि नै सरकारमा जानेबारे प्याकेजमा सहमति खोजी रहेको छ ।
यदि दीपक मनाङेको भोट मुख्यमन्त्री गुरुङलाई आएमा र जसपाले खोजेको प्याकेज सहमति कांग्रेस र माओवादीसँग प्राप्त नभएमा लुम्बिनीको जस्तै फ्लोर क्रसको पनि सम्भावना रहन सक्छ ।
जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको थिएन । यद्यपि अविश्वासको पक्षमा मतदान गर्ने बताउँदै आएको छ ।
विपक्षी दललाई भने आफ्नो पक्षका भोट मुख्यमन्त्री तर्फ फ्लोर क्रस हुने भय पैदा भइरहेको छ ।
अविश्वासको प्रस्ताव दर्ता लगत्तै मुख्यमन्त्री काठमाडौंमा शीर्ष नेतासँग निरन्तर लबिङ पछि मात्र कार्यक्षेत्र फर्किएका थिए ।
प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।