१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ बैशाख । मुलुकका १५ कोरोना प्रभाति जिल्लामा निषेधाज्ञा जारी गरीएको छ भने ३ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरीएको छ ।

पूर्ण निषेधाज्ञा जारी गर्नेमा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै आंशिक निषेधाज्ञा गर्नेमा कालिकोट, बाग्लुङ र बर्दिया परेको छ ।

नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भएको थियो ।

प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो अवस्था काठमाडौँ उपत्यकामा समेत देखिएको छ ।

भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई खुलमखुला नेपाल प्रवेश गर्दा समस्या जटिल भएको जनस्वास्थ्य विज्ञको अनुमान छ ।

हुन पनि विगत वर्षमा भारतमा भयावहस्थिति भएकोमा त्यहाँबाट आएका व्यक्तिका कारण त्यसको केही हप्तामै नेपालमा पनि महामारी फैलिएको थियो ।

यसपाली पनि भारतमा विश्वमै उच्च गतिमा महामारी फैलिएको केही हप्तामै नेपाल प्रभावित हुन पुगेको तथ्य स्पष्ट छ । यसको मुख्य समस्या भनेको खुला सिमाना हो ।

भारत कै अवस्था नेपालमा हुने हो की भन्ने चिन्ताका बीच सरकारको निर्देशनबमोजिम प्रभावित जिल्लामा अहिले निषेधको आदेश जारी गरेर सङ्क्रमण नियन्त्रणको प्रयास भइरहेको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।

सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ । त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ ।

सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ ।

काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले बैशाख १६ गते बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ । कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजे (भोलि बिहान) बाट आदेश कार्यान्वयनमा लैजाँदै छ ।

स्रोतको अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो ।

सम्बन्धित खबर