धादिङ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुमा उम्मेदवार बन्ने रस्साकस्सी छ । वडा सदस्य, अध्यक्ष र गाउँपालिका अध्यक्ष बन्न स्थानिय तहका नेता कार्यकर्ताको हाडबाजी छ ।
सामान्यतया दलहरुले टिकटको सिफारिसका लागि सिफारिस समिति बनाउनुपर्छ । त्यही समितिले व्यक्तिको नामावली क्षेत्रिय समितिदेखि विभिन्न कमिटिलाई जानकारी गराउँछ । तर, धादिङको ज्वालामुखि गाउँपालिकामा एउटा दलका वडा सभापतिले आफ्नो नाम आफैले वडाध्यक्षको टिकटमा सिफारिस गरेका छन् ।
नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को वडासभापति समेत रहेका पुष्कर तामाङले आफ्नो नाम आफै सिफारिस गरेका हुन् । अचम्म त के भने वडाध्यक्षको टिकट पाउने पहिलो नम्बरमै उनको नाम छ र सिफारिसकर्ता पनि आफै छन् ।
वडासमितिले चैत्र २१ मा गरेका सिफारिसमा १२ जनाको नाम छ । जसको सिफारिस कर्ता पनि तामाङ नै रहेका छन् । उनले आफ्नै नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेपछि कार्यकर्ताले नैतिकतको प्रश्न उठाएका छन् । तर, तामाङ उक्त क्षेत्रमा लोकप्रीय र असल नेता भएपछि सिफारिस गर्दा चुकेको एक कार्यकर्ताले बताए ।