धादिङ । नेपाली कांग्रेस ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ का सभापति पुष्कर तामाङले आफूले आफ्नै नाम सिफारिस गरेको नभई सिफारिस समितिले नै सिफारिस गरेको बताएका छन् । दियोपोस्ट डटकमले उनले आफ्नो नाम आफै सिफारिस गरेको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै यस्तो दाबी गरेका हुन् ।
लेटरप्याडमा प्रकाशित कांग्रेस वडा वडा नम्बर ३ का प्रत्यासीहरुको नामावली समेत आधिकारीक नभएको उनको भनाई छ । ‘मैले एक जना साथीले तपाईंको वडामा को–को सिफारिस भयो भनेर सोधेपछि नामावली दिएको हुँ । हामीले आधिकारीक नाम जिल्ला पठाइसक्यौँ । कांग्रेसको सभापतिको नाम एक नम्बरमा हुन्छ नै । मैले एक जनाको मात्रै गरेको होइन । १२ जनाको नाम सिफारिस गरिएको हो । त्यो मैले एकजना भाईलाई म्यासेन्जरमा हालेको थियो,’ तामाङले भने,‘त्यसलाई तानेर रमिता भनेर लेखिएको रहेछ । त्यस्तो होइन ।’
उक्त पत्रमा सभापति भनेर लेख्नु आफ्नो गल्ती भएको समेत उनले स्विकार गरे । ‘त्यो पत्रमा सभापति भनेर मैले सिफारिस गर्नु त्यो सानो गल्ती भएछ । त्यो मैले निर्णय गरेको होइन पार्टीकै निर्णय हो । पार्टीको निति अनुसार सभापतिको नाम एक नम्बर परेको हो,’ उनले भने ।