गठबन्धनको कुरुप दृष्य : कमल थापाको ‘होलीवाइन’सँग, उपेन्द्र यादवसँग चित्रबहादुरको तालमेल !

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख ०४, २०७९ | १६:४२:०३

काठमाडौं । राजनीति विचार दर्शन एजेण्डामा आधारित हुने राजनीतिक शास्त्रका ज्ञाताहरु बताउँछन् । तर, नेपालको राजनीति भने ज्ञाता र विज्ञहरुको परिभाषा भन्दा भिन्न हुँदै गएको छ । राजनीति भनेको चुनाव जित्नु हो । चाहे राजनीतिक रुपमा हिजो ‘प्रधानशत्रु’ घोषणा गरिएका दल वा समुहसँग किन नहोस् सबैको भोट लिएर चुनाव जित्नु, वडाध्यक्ष बन्नु, गाउँपालिका अध्यक्ष बन्नु, मेयर बन्नु, सांसद बन्नु, मन्त्री बन्नु, प्रधानमन्त्री बन्नु र राष्ट्रपति बन्नु मात्रै हो भन्ने गलत भाष्य निर्माण गर्न खोेजिँदैछ । यसैको परिणाम स्वरुप एजेण्डा, कार्यदिशा र राजनीतिक कार्यक्रम नमिल्ने र आ–आफ्नो घोषणा पत्रमा एक अर्र्कालाई प्रधान शत्रु घोषणा गरेका दलहरु नै एक आपसमा चुनावी तालमेलमा जुटेका छन् ।

केहीदिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा आफ्नो ५ किलोको ढक भएको र अन्य दल सबै जोड्दा एक किलो हुने बताएका थिए । एमालेले आगामी निर्वाचनमा एक्लै लड्ने घोषणा गरेका ओली केहीदिनमै लत्रिएर कमल थापा नेतृत्वको राप्रपा नेपालको पाउमा पुगे । धर्मनिरपेक्षता र समाजवादको वकालत गर्दै आएको केपी ओली नेतृत्वको नेकपा एमालेसँग हिन्दुराष्ट्रको वकालत गर्दै आएका कमल थापाले चुनावी सहकार्य मात्रै होइन एमालेकै चुनावी चिन्ह सुर्य लिएर चुनावमा जाने घोषणा गरे ।

सुर्य चिन्ह लिएरै चुनाव लड्ने अर्को दल हो– नेपाल परिवार दल । जसको अध्यक्ष हुन्–एकनाथ ढकाल । नेपालमा क्रिश्चियन धर्म फैलाएको आरोप लाग्ने गरेका ढकाल होली वाइन प्रकरणका प्रमुख पात्र हुन् । क्रिश्चियन धर्म गुरुलाई नेपालमा ल्याएर नेपालमा सबै जसो ठूला नेतालाई होली वाइन खुवाएर चर्चामा आएका ढकाल र कमल थापा एकै गठबन्धनमा आएका छन् । थापा नेपालमा हिन्दुराज्य स्थापनाको अभियानमा छन् यता ढकाल नेपालमा क्रिश्चियनिटी भित्र्याउने पात्र हुन् । दुवै दल एकै ठाउँमा आएर एमालेको नेतृत्वमा गठबन्धन बनेको छ ।

यत्ता सत्तारुढ दल भित्र पनि त्यस्तै एजेण्डा फरक हुनेबीच गठबन्धन छ । संघीयताको सुत्रधार हुन्– उपेन्द्र यादव । मधेश आन्दोलनमा संघीयताको चर्को नारा लगाएर चर्चामा आएका यादव पटक पटक सोही मुद्दाका कारण सरकारमा छन् । हाल नेपाली कांग्रेस नेतृत्वको सरकारमा पनि उनको दल जनता समाजवादीका केही नेता मन्त्री छन् । तर, उनै यादव यतिबेला संघीयता विरोधी प्रमुख नेता चित्रबहादुर केसीसँग चुनावी गठबन्धनमा छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । सत्तारु पाँचदलिय गठबन्धनमा दुवै दल सामेल छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानिय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय भइसकेको छ ।

सम्बन्धित खबर