काठमाडौं । राजनीतिमा ‘आफन्तवाद’ र नातावादको चर्को विरोध हुने गरेको छ । नेताहरुले नियुक्ती अवसरमा आफन्त र नातावादलाई प्रश्रय दिँदा यसको चर्को विरोध हुने गरेको हो । यद्धपी कसैको आफन्त र नातामा पर्दैमा व्यक्ति अयोग्य भन्ने त हुँदैन । तर, त्यही नातावादलाई समाजले प्रश्न भने गरिरहन्छ ।
आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आज सोमबार देशैभर उम्मेदवारी दर्ता धमाधम भइरहेको छ । तर, ठूला महानगरको मेयरको टिकटमै नेताहरुले नातावादको पराकाष्ट देखाइदिएका छन् ।
जनसंख्याको हिसाबले मुलुकको सबैभन्दा ठूलो महानगर हो काठमडौं महानगरपालिका । यो महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गरेको पात्र हुन् सृजना सिंह ।
नेपाली कांग्रेसका बरिष्ठ नेता तथा काठमाडौंको राजनीतिमा सँधै प्रभावशाली मानिएका प्रकाशमान सिंहकी पत्नि सृजनाको आफ्नै राजनीतिक इतिहास नभएको होइन । तर, उनलाई टिकट दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले मनाएका थिए ।
भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाललाई फेरी भरतपुरमै दोहोर्याउने निर्णय भएको छ । उनले भरतपुर महानगरपालिकाको टिकट समेत पाइसकेकी छिन् ।
रेणु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन् । दाहालमाथि आफन्त र नातागोतालाई मात्रै सत्ता र शक्तिमा पुर्याएको आरोप छ । यद्धपी भरतपुरको मेयरको रेणुले गरेको ऐतिहासिक कामका लागि एक पटक दोहोर्याउनुपर्ने माओवादी कार्यकर्ताको माग छ ।
केहीबेरअघि मात्रै अर्को एउटा खबर आयो– विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरालाई टिकट दिलाए । सत्ता गठबन्धनका तर्फबाट यादवका छोरा अमरेन्द्र यादवलाई महानगरको उपमेयरमा उठाउने निर्णय भएको हो ।