विजय लामाले मागे बालेनको पक्षमा भोट : ‘बालेन जस्ताे काविल युवाले नेतृत्व पाउँदा काठमाडौंले मुहार फेर्नेछ’

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख १२, २०७९ | २०:३८:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा पाइलट विजय लामाले भोट मागेका छन् ।

सामाजिक संजालमा स्ट्याटस लेख्दै चलचित्र कलाकार समेत रहेका लामाले बालेनलाई भोट दिन आग्रह गरेका हुन ।

‘राष्ट्रले परिवर्तन मागेको छ । त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनीतिमा होमिनुपर्ने अवस्था छ । बिगतका चुनावका छनोटको परिणामहरु प्रायः आम जनताका लागि निराशाजनकनै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं सहर आज फोहोरको डुङुरमा परिणत भएको छ,’ लामाले भनेका छन्,‘न्युनतम पुर्बाधारको अभाव र चरम अव्यवस्था छ । यस्तो अवस्थमा राजधानी शहरको बागडोर सम्हाल्न एक काबिल युवाको हैसियतले तपाईंले आफ्नो उम्मेद्वारी पेश गर्नुभएको छ । मेरो तपाईंसित ब्यक्तिगत पहिचान कुनै छैन । तर एक सचेत नगरबासीको नाताले सबै उमेदवारको बारेमा जानकारी राख्नु मेरो धर्म हो झैं लाग्छ । तपाईंको बारेमा जति थाहा पाएँ त्यति प्रभावित भएको छु । तपाईंको घोषणापत्र पनि निकै ब्यवस्थित पाएँ ।’

घोष्णा पत्रमा हुनुपर्ने र गर्न सकिने कुराहरु उल्लेखित रहको भन्दै उनले बालेन आफैमा इन्जिनियर रहेको हुँदा काठमाडौं शहरले गुमाएको गौरव फर्काउने विश्वास गरे ।

‘एक स्वतन्त्र उमेदवारको हैसियतले प्रतिस्पर्धा गर्न पक्कै पनि सहज छैन । तर सकारात्मक सोच , दृढ आत्मबल स्पष्ट योजना सहित अघि बढ्योभने लक्ष अशम्भव छैन । कयौं देशमा राष्ट्र प्रमुखनै युवा पुस्ता छन्,’ लामाले भनेका छन्,‘हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन । बरु अरु पार्टीहरुले पनि एक पटक युवा जनशक्तिमा विश्वास गर्दा कति राम्रो हुन्थ्यो । शुभकामना तपाइलाई ।’

सम्बन्धित खबर