अघिल्लो चुनाव हारेका ‘बालुवा तस्कर’लाई माओवादीले दियो गजुरी गाउँपालिका अध्यक्षको टिकट !

दियो पोस्ट  

धादिङ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि देशभर सोमबारसम्म १ लाख भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । अन्य स्थानमा जस्तै धादिङमा पनि सबै जसो नगरपालिका, गाउँपालिका र वडाहरुमा टिक पाएका तथा नपाएका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिका तथा नगरपालिकामा दलका नेताहरुले आफू निकट व्यक्तिलाई टिकट दिएको भन्दै आलोचना पनि भई रहेको छ ।

धादिङको गजुरी गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालिकराम जम्मकट्टेलले आफू निकट व्यापारीको भलो गर्दा यस पटकको निर्वाचनमा पनि माओवादी पराजित हुने आशंका बढेको छ । तीन दलिय गठबन्धनले गजुरी गाउँपालिका माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो । सहमति अनुसार अध्यक्ष माओवादी केन्द्रबाट र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिने उल्लेख थियो । माओवादी केन्द्रका इन्चार्ज शालिकराम जमकट्टेलले आफू निकट बालुवा तस्कर गणेशलाल श्रेष्ठलाई गाउँपालिका अध्यक्षको टिकट दिएपछि विवाद चर्किएको छ । गाउँपालिकाका प्रबल दाबेदार टारा भण्डारीलाई वडामा उम्मेदवार बनाएर श्रेष्ठलाई उम्मेदवार बनाइएको हो । उनले हिजो सोमबार नै निर्वाचन कार्यालयमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका छन् ।

बेल्खुस्थित त्रिशुली नदिमा नदि बीचमै स्क्याभेटर र डोजर चलाएर नदिको धार नै बदलेर बालुवा तस्करी गर्दै आएका श्रेष्ठ टिफर व्यावसायी संघको पूर्व अध्यक्ष पनि हुन् । उनी यसअघि २०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतसँग पराजित भएका श्रेष्ठलाई माओवादीले फेरी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो ।

जमकट्टेलले केहीदिन अघि गरेको सहमति पत्रमा गजुरी गाउँपालिका माओवादीलाई दिन सहमति गरिएको छ । तर, तीन दल मध्ये नेकपा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा आफ्नो उम्मेदवारी दिएको छ । अधिकांश स्थानिय निकायमा कांग्रेस नेता कार्यकर्ता र समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि उक्त सम्झौता भंग भएको हो ।