भ्रष्टाचार नियन्त्रण गर्न जनयुद्धमा जस्तै तपाईंहरूको साथको आवश्यक छः प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरुसँग अपिल गर्न चाहन्छु ।’

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’