काठमाडौं । सन् १९९० मा तत्कालिन भूटानी राजाले आफ्ना भोट मूल नागरिकमाथि चुनौती देखेर नेपाली भाषीमाथि चरम दमन गरे । भुटानबाट लखेटिएका नागरिकहरुलाई भारतीय सरकारले स्कर्टिङ गरेरै नेपालको सिमा क्षेत्र हुँदै झापा र मोरङका विभिन्न क्षेत्रमा ल्याएर छाडिदिए । उनीहरुलाई विभिन्न शिविरमा राखिएको थियो । भुटानी शरणार्थीको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न तत्कालिन सरकारले विभिन्न मञ्चहरुमा कुरा उठाएको हो । शरणार्थी सम्बन्धी समस्या समाधान गर्न विभिन्न सरकार पटक पटक कार्यदल बनाएको थियो ।
भुटानी शरणार्थीको समस्या सम्बन्धी कार्यादलको नेतृत्व गरेर भुटान भ्रमण गर्ने प्रमुख पात्र थिए– तत्कालिन गृहमन्त्री केपी शर्मा ओली । त्यसपछिका विभिन्न सरकारले भुटानी नागरिकलाई अन्यत्र देशमा शरणार्थीको रुपमा पठाइरहेको थियो ।
२०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगाययतका तेस्रो मुलुक पुनर्स्थापना भएका छन् । तीबाहेक भुटानी शरणार्थीका रूपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालकै शिविरमा छन् । शरणार्थीलाई सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)को दमकस्थित कार्यालय पनि सन् २०२० मा बन्द भयो । २०७५ पुस १७ देखि नगद र खाद्यान्न सहयोग गरिरहेको राष्ट्र संघकै विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले पनि नगद र खाद्यान्न सहयोग बन्द गरेको छ ।
तर, उनै केपी ओली नेतृत्व बनेको सरकारले २०७६ जेठ ३० मा विविध कारणले शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरूबारे अध्ययन गरी थप प्रमाण जुटाउन भन्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय ग¥यो । उक्त कार्यदल शरणार्थीका समस्या समाधान गर्ने होइन, नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर मानव तस्करी गर्न संगठित रुपमा गरिएको धन्दा थियो भन्ने अहिले पुष्टि हुँदैछ । घटना सार्वजनिक भएपछि पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा सत्तारुढ दल नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भयो । त्यसलगत्तै ओलीको दौडधुप बाक्लो बनेको छ ।
उनी लगातार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा गएर अनुसन्धान प्रभावित गर्नेगरि धम्की दिइरहेका छन् । कोही निर्दोष नपरोष भन्दै घुमाउरो ढंगले उनी आफ्ना मान्छेलाई उन्मुक्ती दिलाउन धम्की दिन बालुवाटार धाइरहेका थिए । केही सार्वजनिक मञ्चहरुबाटै ओलीले भुटानी शरणार्थी प्रकरणमा एमाले नेतालाई मात्रै पक्राउ पुर्जी जारी गरेको भन्दै खुलमखुल्ला आफ्नो बचाउमा उत्रिएका छन् ।
नक्कली भुटानी शरणर्थी प्रकरणबारे राज्यको असलियत बाहिर आएसँगै ओलीको दौडधुप बढ्दै गएको छ । मानव तस्करी तथा बेचबिचखन जस्तो जगन्य अराधमा सिंगो राज्यको नै संलग्नता रहेको अनुसन्धानबाट खुल्दै गएका बेला ओली भने आफूलाई बचाउन दौडधुपमा छन् ।
नेकपा विभाजन पछि प्रधानमन्त्री प्रचण्ड र ओलीबचको सम्बन्ध चिसिदै गएको थियो । गत आम निर्वाचनपछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड ओलीसँग सम्बन्धविच्छेद गरेर पुरानै गठबन्धनमा फर्किएका थिए । त्यस यता दुबै शिर्ष नेताबीचको मनमुटाब बढ्दै गएको थियो । तर यो प्रकरण बाहिरिएसँगै ओली तुरुन्त बालुवाटार हाजिर भए । आफ्नै पार्टीका नेताहरुको नाम मुछिएपछि उनले प्रचण्ड सरकरालाई भेटेरै दबाब दिदै आइरहेका छन् । रायमाझीसहति उनका छोरा सन्दीप रायमाझी, एमाले नेता एवं पूर्व गृहमन्त्री राम बहादुर थापा बादल र उनका छोरा प्रतिक थापा ठगी गिरोहमा संलग्न भएको खुलेको छ । रायमाझीका छोरा वुटवलबाट पक्राउ परिसकेका छन् । पछिल्लो समय गुमनाम भएका बादलले भने यो विषयमा केही प्रतिक्रिया दिएका छैनन् । अहिले उनी कहाँ छन् त्यो समेत केही जनाकारी छैन । कांग्रेस नेता तथा पूर्व कार्यवाहक प्रधानमन्त्री समेत रहेका कांग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँड प्रहरी हिरासतमा छन् । उनलाई म्याद थपेर अनुसन्धान जारी छ ।
दमक र मोरङको पथरीस्थित शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम २०७३ पुस १६ मै समाप्त भएको थियो । नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का ले शिविरका भुटानी शरणार्थीलाई पुनर्वासमा लैजाने कार्यक्रम सात वर्ष अघि नै समाप्त गरेपनि ओली सरकारले संगठित रुपमा यो धन्दा किन गर्यो ? आम जनताले प्रश्न गरिरहेका छन् ।
ओली खोल्दैछन् आफ्नै पोल
अध्यक्ष केपी शर्मा ओलीले बैठकमा टोपबहादुर रायमाझी (बुधबार) पक्राउ पर्ने सूचना पाएको बताएका थिए । बिहीबारदेखि सुरु भएको केन्द्रीय बेठकमा सम्बोधन गर्दै उनले लामो ब्रिफिङ गरेका थिए ।
‘हिजो हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ । त्यो कुरा चाहिँ पूरा भएन’, ओलीले थप भने, ‘हिजो हाजिर हुँदै हुनुहुन्छ भनेर सरकारी स्रोतबाटै बुझेको थिएँ । तर पछि किन हाजिर हुनुभएन, थाहा भएन ।’
एमालेले बुधबार रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको केही समयभित्रै एमालेले रायमाझीलाई निलम्बन गरेको हो । निलम्बनको निर्णयपछि पनि रायमाझीका निकट मान्छेसँग कुरा भएको ओलीले बताए । ‘त्यो फैसला सुनिसकेपछि उहाँको निकटका मान्छेबाट (फोन नम्बर त मैले राख्दिनँ) कतैबाट मलाई फोन आयो । के गर्ने हो भनेर’, केन्द्रीय सदस्यहरुलाई ओलीले ब्रिफिङ गरे ।
जवाफमा आफूले प्रहरी समक्ष हाजिर हुन सुझाव दिएको उनले बताए । ‘पार्टीले फैसला गरेको सुनिहाल्नुभयो होला । हाम्रो नीति यस्तो छ भनेर बताइदिनुहोस् उहाँलाई । उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ’, ओलीले भने, ‘हाम्रो सुझाव यो छ र पार्टीको निर्देशन पनि त्यही छ । यो कुरा उहाँलाई सुनाइदिनुहोस् भनेर उहाँका निकटका भनिएका मान्छेहरुलाई भनेको थिएँ ।’
रायमाझीले पार्टीको निर्णय पालना नगर्नेबारे नसोचेको समेत एमाले अध्यक्ष ओलीले बताए । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुर बाहिर त्यसरी जानु हुन्छ’, बैठकमा ओलीले भने । त्यसअघि रायमाझीले सिंधै अदालतमा हाजिर हुने सन्देश पठाएको पनि ओलीले ब्रिफिङ गरेका छन् । ‘प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो । त्यसकारण अदालतमै उपस्थित हुने विचार गरेँ भनेर उहाँले भन्नुभयो भनेर मैले सुनेँ’, ओलीले भने ।
यो भनाईबाट समेत ओलीको असलियत बुझ्न सकिन्छ । संगठित अपराधको यति ठूलो गिरोहमा संलग्न व्यक्तिसँग ओलीको कुनैपनि माध्यमबाट बातचित हुने र फरार अभियुक्तसँग ओलीको सम्पर्क देखिनुले घटनाको गिरोहको डोरी बालकोट तिरै देखाउँछ ।
अधिवक्ता मोहन साशंकर
अधिवक्ता मोहन साशंकरले केपी ओली शरणार्थी प्रकरणमा अनुसन्धानको दायारा आउनु पर्ने बताएका छन् । “पहिले त ओलीले आफ्ना नेता कार्यकर्ताको विषयमा प्रतिक्रिया दिनु स्वाभाविक हो । तर यो घटनापछि ओलीले देखाएको क्रियाकलापमा उनी यो घटनामा संलग्न छन् र यो घटनाबाट उनी कसरी उम्कीन खोजिरहेका छन् भन्ने प्रष्ट हुन्छ । साशंकरले भने, “यूएनएचसीआरले भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम २०७३ मै बन्द गरिसकेपछि केपी ओली नेतृत्व सरकार हुँदा २०७६ मा फेरि भुटानी शरणार्थीका समस्या दिर्घकालीन रुपमा समाधान गर्छाै भन्दै मानव तस्करी गर्ने उद्देश्यले नै यो कार्यदल गठन भएको अहिलेको घटनाले पुष्टि हुन्छ । ओलीको पछिल्लो गतिविधिले आफू कसरीे उम्कीन सकिन्छ भनेर कसरत गरिहेका छन् । उनी अनुसन्धानको दायारामा आउनैपर्छ । उनीमाथि देशद्रोह, संगठीत मानव तस्करी जस्ता अभियोगमा छानबीन हुनुपर्छ ।’

पूर्व एसएसपी रोमखामी
नेपाल प्रहरीका पूर्व एसएसपी योगेश्वर रोमखामी जतिसुकै ठूला मान्छे भएपनि कानुनभन्दा माथि कोही नहुने र उनीहरुको संलग्नताको आधारमा छानबीन हुनुपर्ने बताउँछन् ।
‘अहिले अनुसन्धान शुरु भएको छ । अनुसन्धान गरेर अभियोगपत्र बुझाइसक्नुपर्ने म्याद कम छ । यो निकै ठूलो मुद्दा हो । जसमा ठूला नेता समेत पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत पक्राउ पर्नु भएको छ,’ उनले भने,‘प्रहरीमाथि पनि विभिन्न दबाव आइरहेको होला । नेपालमा प्रहरीमाथि राजनीतिक हस्तक्षेप छ की छैन भन्ने कुरा छर्ललंगै छ । पोलिटिकल फेवर नभएसम्म प्रमोशन समेत नहुने अवस्था छ । प्रधानमन्त्री र गृहमन्त्रीमा प्रहरीमाथि हस्तक्षेप नगरोस् भन्ने वातावरण हुनुपर्छ ।’
उनका अनुसार प्रहरीले बयानको आधारमा एकपछि अर्कोलाई पक्राउ गर्दै आएको र कनेक्सनको आधारमा जोलाई पनि पक्राउ गर्नुपर्ने छ । ‘चाहे पूर्वप्रधानमन्त्री भएपनि पक्राउ पर्नुपर्ने हुन्छ । नेपालमा ठूलाबडाहरु कानुनभन्दा माथि छ अव्यावहारीक तरिकाले भएका हुन् । तर, कानुनभन्दा माथि कोही पनि छैन । बेलायतमा गाडी चलाउँदै गर्दा सिटबेल्ट पछाडी बाध्यो भनेर प्रधानमन्त्री ऋषी सुनकमाथि कारबही हुन्छ । तर, नेपालमा किन कारबाही हुँदैन । कारबाही नै हुनु हुँदैन भन्ने कानुन त नेपालमा छैन नी । नेपालमा जतिपनि कानुनको उलंघन कानुन निर्माणा गरेर परिपालना गराउनेहरुबाटै भएको छ । ’