नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया पश्चात शिशुको मृत्यु : लापरबाहीको आरोप !

- कमल विक  

 

काठमाडौं । नेपालगञ्जको मेडिकल कलेज टिचिङ अस्पतालमा शल्यक्रियाबाट एक शिशुको मृत्यु भएको छ । गत शुक्रबार बिहान उक्त अस्पतालमा जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला निवासी ३० वर्षीया जमुना सिंह ठकुरीको शल्यक्रिया पश्चात जन्मिएका एक नवजात शिशुको मृत्यु भएको हो ।

उनका आफन्तहरूका अनुसार जमुनालाई अस्पतालले बैशाख २७ गते बिहीबार भर्ना गरेको थियो । अर्को दिन शुक्रबार बिहानसम्म अस्पतालले तोकेको समयमा पनि बच्चा नजन्मिएपछि र सुत्केरीलाई ब्यथा नलागेकोले आफन्तले ‘सुत्केरी लाई घर लैजान्छौं, व्यथाले च्यापेपछि आऊछाँ’ै भन्दापनि नमानेपछि स्वास्थ्यकर्मी डा. पुनम आचार्यको निर्देशनानुसार सुत्केरी र बच्चाको स्वास्थ्यको कारण देखाई तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनी शल्यक्रियाको लागि अपरेसन थिएटरमा लगिएको थियो ।

शल्यक्रिया अघिको सम्पुर्ण रिपोर्टमा बच्चा र आमाको स्वास्थ्य राम्रो हुँदाहुँदै पनि शिशुको ज्यान गएको सुत्केरीका श्रीमान खडक जंग शाहीले बताए । उनका अनुसार आफुहरूले डाक्टरलाई सोध्दा आमाको स्वास्थ्य नर्मल रहेको तर बच्चाको स्वास्थ्यस्थिति जानकारी नगराई नवजात शिशुलाई एनआईसीयुमा राखिएको केही समयमै मृत शिशु हातमा थमाएको उनी बताउँछन् ।

नेपालगञ्जको मेडिकल कलेज टिचिङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । अहिलेसम्म बच्चाको मृत्युको कारण खुलेको कागज र मृत्यु प्रमाणपत्रसम्म दिन नमानेको खडक जंग शाहीको गुनासो छ ।

शुक्रबार बिहान बच्चाको मृत्युपछि शल्यक्रिया गर्ने डा. पुनम आचार्य आईतबार १२ बजेसम्म अनेक बहानामा सुत्केरीलाई भेट्न नआएपछि शल्यक्रियामा लापरबाही र शिशुको मृत्यु शंकास्पद रहेको मृतकका बुबाले सुनाए ।