काठमाडौं, २३ वैशाख । एमाओवादी सहायक संगठन वाईसिएल नेपालले कर नतिर्ने एनसेल विरुद्ध जनस्तरबाटै प्रतिरोध गर्ने घोषणा गरेको छ ।
नेपालको सबैभन्दा ठूलो कर्पोरेट डिल एनसेलको सेयर खरिद विक्रि प्रक्रिया पूरा भएको र एनसेलले कर नतिरेको विषयमा सर्वत्र आलोचना भईरहेको छ । विहीबार वाईसिएलले विज्ञप्ति जारी गर्दै एनसेलमाथि नेपाली जनताको अधिकार रहेको बताएको हो ।
‘संसदका तीन वटा अर्थ, विकास तथा लेखा समितिले यस विषयमा कुरा गर्न खोजे तर प्रक्रियालाई किनारा नलगाई शंकास्पद ढंगले छाडे । अर्थ मन्त्रालय र मन्त्री जति जिम्मेवार यो प्रकृयामा अरू कोही छन् भनेर विस्वास गर्न सकिन्न,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्चार माध्यमले यो विषयलाई निरन्तर खबरदारी गरे पनि सरकारले जनतालाई यस विषयमा सत्य तथ्य जानकारी गराउनुपर्ने दायित्वबाट संधै पन्छियो । त्यसैले सरकार नै राजस्व उठाउने विषयमा गम्भीर नभएको शंका गर्ने प्रसस्त ठाउँ भेटियो ।’
एनसेल नेपाली जनताबाट आर्जित सम्पत्ति रहेको भन्दै उसले करको मालिक पनि नेपाली जनता नै रहेको बताएको छ । ‘नेपाली जनतलाई छलेर केही सिमित व्याक्ति तथा संस्थालाई लाभ हुने गरी करबाट उन्मुक्ति दिन पाईंदैन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यदी कहिं कसैले कानुनको गलत व्याख्या गरेर कर उन्मुक्ति दिन खोजे हामी जनस्तरबाटै प्रतिरोध गर्न बाध्य हुनेछौं । हाम्रो संगठन आम जनसमुदाय तथा मातहतका संगठनलाइ आआफ्नो सापेक्षतामा विरोध तथा भण्डाफोर गर्न अपिल गर्दछ ।’
विज्ञप्तिमा अध्यक्ष रामचन्द्र शर्मा र महासचिव रामप्रसाद सापकोटा दीपशिखाले हस्ताक्षेर गरेका छन् ।