माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि हो– नेता नेपाल

दियो पोस्ट  

पोखरा, १७ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताए ।

प्रेस चौतारी नेपालद्वारा आज पोखरा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा ९एमाले० तयार रहेको बताए ।

सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उहाँले यसले नेपाली जनतामा आशा जगाएको बताए । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे ।

सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उनको भनाइ छ ।

सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उनले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा ९एमाले०ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उनले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राखे ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल, सचिव अर्जुन गिरीलगायतले बोलेका थीए ।