संसद बैठक आधा घन्टाका लागि स्थगित

दियो पोस्ट  

काठमाडौँ, १७ जेठ । नेपाली काँग्रेसले आर्थिक वर्ष २०७३÷७४को बजेट सार्वभौम संसद्समक्ष प्रस्तुत हुनुअगावै समाचारपत्रमार्फत अघिल्लै दिन सार्वजनिक भएकामा आपत्ति जनाउँदै त्यसको छानबिनको माग गरेको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा रामशरण महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताए ।

एक दिनअघि नै समाचारपत्रमार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको बताए ।

उनले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएकामा छानबिनको माग गरे ।

बजेटको गोपनीयता भङ्ग भएकाले त्यसको छानबिन नभएसम्म सदनको कारबाही अघि बढाउन नसकिने जिकिर गर्दै विपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठेपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन भएको घोषणा गरे ।

सम्बन्धित खबर