पाल्पा, ६ जेठ । बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुनु हुन्छ । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थाल्नुभएको हो । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ गाईपालन सुरु गरेको हो ।
अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन्। गाईको दूध बेचेर मनग्य आम्दानी हात लागेपछि अहिले गाईको स्याहारसुसार नै दैनिकी बनेको छ । दूध बेचेको आम्दानीले परिवारको लालनपालन र पाँच सन्तानको शिक्षादीक्षाका लागि खर्च जुटेको बस्याल बताउँ छन्।
“आम्दानीको स्रोत भनेकै गाईपालन हो,” उनले भने। दुईवटा गाईले दैनिक पाँचदेखि छ लिटर दूध दिने गरेका छन् । खडेरीका कारण घाँस पानीको समस्या भएको छ । खडेरीले आम्दानी घटाएको बस्यालको गुनासो छ ।
बस्यालको छोरा भारतमा मजदुरी गरी मासिक रु १५ हजारदेखि रु २० हजार आम्दानी गर्नुहुन्छ । तर बस्याल परिवारले उनलाई पनि पशुपालन व्यवसायमै आवद्ध गराउने सोच बनाएको छ । वृद्ध बस्याल सीपका धनी छन् । उनले आफैँले नाम्लो, दाम्लो, डोको, कुचो बनाउछन् ।
पछिल्लो समय जर्सी गाई पालेका किसानले भैँसी भन्दा गाईपालनमा बढी जोड दिएका छन् । जर्सी गाई पालेर दूध बेच्नेको आम्दानी देखेपछि किसान भैँसीभन्दा गाई पालनतर्फ आर्कषित हुन थालेका हुन् ।