सिन्धुपाल्चोक, १२ जेठ । भूकम्प प्रभावित १० जिल्लामा पुन: र्निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले कर्मचारी अवश्यकता सम्बन्धी प्रकाशित गरेको सुचना प्रति नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले असहमति जनाएको छ । यस विषयमा अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला समितिले बुधबार प्राधिकरण कार्यलय सिन्धुपाल्चोकमा ज्ञापन पत्र समेत बुझाएको छ ।
राष्ट्रिय आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत प्राधिकरणका लागि कर्मचारी आवश्यकता सम्बन्धी सुचना प्रकाशित भएको थियोय । सुचनामा कर्मचारीको उमेर हद २५ वर्ष पुगेको हुनुपर्ने प्रावधकान राखिएपछि क्रान्तिकारीले विरोध जनाएको हो । ‘१८ वर्षदेखि ३५ वर्ष उमेर पुगेका सबै नागरिकले राज्यको लागि काम गर्न पाउनुपर्छ,’ अध्यक्ष सिपी दुलालले दियोपोस्टसँग भने,‘यो विभेदपूर्ण सुचना तत्काल सच्याईयोस् ।’
‘भूकम्पले थिलथिलो बनाएको जिल्लामा हुन लागेको पुनःनिर्माणमा शिक्षित बेरोजगारले आफ्नो शैक्षिक प्रमाणपत्र र अनुभवलाई उमेरकै कारणले रोजगारीबाट बञ्चित हुनुपर्ने नियति झै फेरी पनि विदेशीनुपर्ने अवस्था सृजना भएकाले यस्तो गम्भिर त्रुटिलाई तुरुन्त सच्याउन र आफ्नो हक अधिकार प्राप्त गर्ने अवसरबाट बञ्चित नगराउन जोडदार माग गर्दछ,’ क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘यदि यस गम्भिर विषयबस्तुलाई सामानय अर्थमा लिई बेवास्ता गरिएमा हाम्रो संगठनले संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौं ।’