‘भारत’मा कट्रिनालाई भ्याइनभ्याइ

‘भारत’मा कट्रिनालाई भ्याइनभ्याइ

मुम्बई, बलिउडमा यस वर्ष फिल्म ‘भारत’ले माहोल तताउने अनुमान लगाउन थालिएको छ। अभिनेता सलमान खान र अभिनेत्री कैट्रिना कैफ स्टारर उक्त चलचित्रलाई धेरै दर्शकले प्रतीक्षा गरिरहेका छन्। साथै समीक्षकले समेत फिल्म राम्रो हुने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बलिउडमा फिल्म रिलिज हुँदासम्ममा निर्माण चरणका अन्तरकथा बाहिरिने गरेका छन्। धेरैजसो यस्ता कथाले दर्शकलाई नयाँ कुरा खुलासा गरिदिन्छन्। फिल्म ‘भारत’का पनि नयाँ कुरा बाहिरिएको छ। सुरुमा फिल्मका लागि नायिका प्रियंका चोपडा अनुबन्धित थिइन्। उनले बीचमा फिल्मका लागि पूरापूर समय दिइनन्। उनले काम नगर्ने भएपछि कैट्रिनासँग कुरा गरियो। उनी फिल्म खेल्न राजी भइन्। यो कुरा अभिनेता सलमान खानले नै बाहिर ल्याएका थिए। यसरी ढिलो गरी अनुबन्धित भएपछि कैट्रिनालाई भ्याइनभ्याइ छ।

एक सञ्चारमाध्यममा सलमान खानले भनेका थिए, ‘सुरुमा प्रियंका चोपडालाई फिल्ममा लिएका थियौं। तर, सुटिङको महिना दिनअगाडि उनले काम गर्न आनाकानी गरिन्। त्यसपछि कैट्रिनासँग कुरा भयो, उनी राजी भइन्।’

यसअघि सार्वजनिक ट्रेलर र गीतबाट आएको प्रतिक्रियाले दर्शकको मन जितेको र उनीहरू फिल्मको प्रतीक्षामा रहेका छन्। यसैबीच सलमानले छोटो समयमै कैट्रिनाले फिल्मको पात्रलाई न्याय दिन सक्ने बताएका छन्।

२२ अप्रिलमा फिल्म भारतको ट्रेलर युट्युबमार्फत सार्वजनिक भइसकेको छ। सलमानलाई यस पटक फरक अवतारमा देख्न पाइने छ। उनी विभिन्न नयाँ रूपमा देखिने भएका छन्।

भारतको कहानी समेटिएको फिल्ममा अभिनेता सुनील ग्रोवर, दिशा पाटनी, जैकी श्राफलगायत कलाकारको अभिनय छ। चलचित्र भारतबारे सलमान एकदमै उत्साहित छन्। उनले यो फिल्म आफ्ना लागि निकै विशेष भएको बताउँदै आएका छन्। साथै अफिसियल ट्रेलर सार्वजनिक भएपछि दर्शकका अलावा बलिउडका अन्य कलाकारले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।

चलचित्र भारतको पहिलो गीत सार्वजनिक भइसकेको छ। स्लो मोसनको गीतमा विशाल, शेखर र श्रेया घोषालको आवाज छ। उक्त गीतमा चलचित्रका मुख्य कलाकार सलमान खान र दिशा पटानीलाई फिचरिङ गरिएको छ।

त्यस्तै यसअघि सार्वजनिक पोस्टरमा सलमान खान वृद्ध देखिएका छन्। तर उनी निकै ह्यान्डसम देखिएका छन्। कपाल र जुँगा चिटिक्क देखिन्छ। चस्माले निकै सुहाएको छ। सन् १९४७ देखि अहिलेसम्मको भारत स्वतन्त्रताको यात्रा फिल्ममा देखाइने बताइएको छ। फस्ट लुकमा सन् २०१० लाई पनि गाढा अक्षरले लेखिएको छ।

रोमान्स, एक्सन र थ्रिलर फिल्ममा बढी देखिने सलमानले फ्यानहरूलाई सरप्राइज दिन लागेका छन्। उनले फिल्मको तस्बिर ट्विट गर्दै आफ्नो ‘रंगीन जिन्दगी’ भएको बताएका छन्। अली अब्बास जफर निर्देशित उक्त फिल्म इदको अवसरमा रिलिज हँुदै छ। एजेन्सी

Trending News