भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ।
एद्गार साम्ब्रानो संसद् न्याश्नल एसम्ब्लीका उपाध्यक्ष हुन्। पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो।
गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन्।अमेरिकालगायत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्।तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन छ र उनले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन्।
कसरी गरियो पक्राउ?
डेमोक्र्याटिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि आफू उनीसँग भएको बताएका छन्।”गाडी घेरियो,” उनले भने, “उनीहरूले हामीलाई उनी ( साम्ब्रानो) भएको ठाउँमा जान दिएनन्। उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो।”
उनलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ।प्रोस्पेरीले भने, “हामीलाई उनी कस्तो स्थितिमा छन् र एल एलिकोइदमा के हुँदैछ भन्ने थाहा छैन।”ग्वाइदोले पनि वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन्। उनले गाडी तानेर लैजानुलाई “मूर्खता” भनेका छन्।
देशको सर्वोच्च अदालतले साम्ब्रानो र न्याश्नल एसेम्ब्लीका अन्य छ जनालाई विफल सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो।मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले “विद्रोहका एक मुख्य षड्यन्त्रकारी” पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए।
गत हप्ताको सङ्घर्षपछि के भयो?
मे १ मा सरकार तथा विपक्षी समर्थकहरूले राजधानीमा प्रदर्शन गरे। सुरुमा ती प्रदर्शन शान्तिपूर्ण नै थिए।तर पछि गोली चलेको विवरण आउन थाल्यो। त्यही दिन एक व्यक्तिको गोली लागेर मृत्यु भएको बताइएको छ।मङ्गलवार ग्वाइदोले मदुरोलाई सत्ताच्युत गर्ने अभियानको “अन्तिम चरण”को घोषणा गरे।
“वीर सैनिकहरू”को समर्थन आफूसँग भएको उल्लेख गर्दै उनले सैन्य पोसाक लगाएका मानिसहरूसँग खिचिएको आफ्नो भिडिओ सामाजिक सञ्जालमा हाले।उनले भेनेजुएलावासीलाई सडकमा आउन आह्वान गरे।गत जेनुअरी महिनामा ग्वाइदोले आफूलाई देशको अन्तरिम नेता घोषण गरेका थिए।
विपक्षीको नियन्त्रणमा रहेको संसद्को प्रमुखका हैसियतमा उनले अन्तरिम राष्ट्रपति बन्ने संविधानको प्रावधान क्रियाशील बनाएका थिए।उनले गत वर्ष मदुरो अवैधानिक रूपमा पुन: निर्वाचित भएको तर्क गरेका थिए।आइतवार बीबीसीसँग कुरा गर्दै उनले अमेरिकालाई सैन्य हस्तक्षेप गर्न आग्रह गर्न सक्ने बताएका थिए। विविसीबाट