कञ्चनपुरको बाह्र सय हेक्टरमा डढेलो

दियो पोस्ट  

कञ्चनपुर,वैशाख ३१ । कञ्चनपुरको चुरे क्षेत्रमा रहेको करीब एक हजार २०० हेक्टर राष्ट्रिय वन क्षेत्र डढेलोको चपेटामा परेको छ । भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको उत्तर चुरे क्षेत्रमा गत चैत महीनादेखि डढेलो लागेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको बेदकोट क्षेत्रमा पर्ने राष्ट्रिय वनमा लागेको डढेलोका कारण पर्यावरणमा क्षति पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले जानकारी दिए । कञ्चनपुरमा ७८ हजार ७९७ हेक्टर कूल वन क्षेत्र रहेको छ ।
‘अहिलेसम्मको तथ्याङ्क हेर्दा सामुदायिक र राष्ट्रिय वनमा गरी करीब एक हजार २०० हेक्टर वनमा डढेलो लागेको देखिन्छ’, रेञ्जर अवस्थीले भने, ‘वन कर्मचारी र उपभोक्ता डढेलो नियन्त्रणमा खटिएका छन् ।’

डढेलो नियन्त्रणका लागि भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र दक्षिण क्षेत्रको बेलौरी नगरपालिकाका केही वडामा डढेलो नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘भौगोलिक विकटताका कारण पनि गतसाता डढेलो नियन्त्रण बाहिर रह्यो’, उनले भने, ‘अहिले आगो नियन्त्रणमा आइसकेको छ ।’

डढेलो नियन्त्रण गर्न सेना, प्रहरीको टोलीसमेत केही दिन चुरे क्षेत्रमा खटिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा केही समयअघि लागेको डढेलो नियन्त्रण भइसकेको छ । कञ्चनपुरमा १३९ वटा सामुदायिक वन रहेका छन् । रासस