चाडको पूर्वी क्षेत्रमा बोको हरामको आक्रमण, १३ गाउँलेको हत्या

चाडको पूर्वी क्षेत्रमा बोको हरामको आक्रमण, १३ गाउँलेको हत्या

चाड,जेठ ५ । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ ।

सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताए ।

गाउँलेको हत्या रोक्न चाडको सेना समयमै आइनपुगेको बताइएको छ । चाडको उच्च सैनिक नेतृत्वले उक्त गाउँमा सैनिक परिचालन गरिएको र लडाकूहरुको खोजी शुरु गरिसकेको जनाएको छ ।

नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासन व्यवस्थाका लागि आन्दोलनरत बोको हरामका गतिविधिहरु पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुकहरु नाइजर, चाड र क्यामरुनमा पनि बिस्तार भएको छ ।

बोको हराम विरुद्धको कारबाही तिब्र पारिए पनि नाइजेरियामा मात्र २७ हजारको ज्यान गइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् । एएफपी

Trending News