पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् १९ दिने कार्यक्रम

पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् १९ दिने कार्यक्रम

काठमाडौँ, जेठ ५ । पहिलो चरणको आन्दोलन सकिँदापनि सरकारले आफ्नो माग सम्वोधन नगरेको भन्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिलसम्वन्धि विधेयकका प्रावधानप्रति आपत्ती जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले विधेयक दर्ता गर्न नहुने माग राखेको छ ।

महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।

Trending News