काठमाडौंमै तोडियो रुढिवादी परम्परा : श्रीमानको निधन, सिन्दुर पोतेमै सजिइन् सरिता !

दियो पोस्ट  

काठमाडौं, १८ वैशाख । “पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भएको थियो । तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा सजिएरै बस्छिन् ।

पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने नेपाली समाजमा सदियौँदेखिको चलन चल्दै आएको छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनी, “सिन्दूर–पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमान्सँग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।”

सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकि होइनन् । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन् । आफ्नो छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन् । “मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ”, उनि भन्छिन् , “रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।”

त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन् । “कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु”, उनले जोडिन् , “रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।”

स्व पौडल शिक्षासेवी थिए । उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे । उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए । अनि आफ्ना छोराहरूलाई कोरीमा नबस्न आग्रह गरेका थिए । “आफ्नो बाबुलाई जलाउँदा सन्तालाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनु”,छोराहरुलाई आफ्नो मृत्यु अगावै यसो भनेका थिए ।

समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि ८३ वर्षीया सरिताले गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ ।

सिफारिस