कोरोना महामारी नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले केहीदिन अघि सर्वदलिय बैठक बोलाए । तर बैठक कोरोना महामारी नियन्त्रण भन्दा पनि आफ्नो राजनीतिक दुहुनो सोझ्याउन केन्द्रित भयो । उक्त बैठकमा प्रधानमन्त्रीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्न चाहेको र उक्त प्रस्तावमा समर्थन गर्न दलहरुले सहयोग गर्नुपर्ने उनको माग थियो ।
त्यस्तैगरि मुलुक कोरोना महामारीको उकालो चक्र लगाउँदै गर्दा प्रधानमन्त्री ओली चितवनको अयोध्यापुरीमा राम सिताको धाम बनाउने रथयात्रामै थिए । पुस अन्तिममा निर्माण सम्पन्न हुने धरहराको उद्घाटन ९ महिनाअघि वैशाख ११ मै गरिहाल्नुपर्र्नेे हतारोले हाम्रा प्रधानमन्त्री सस्तो लोकप्रीयतामा कति आशक्त थिए भन्ने दर्शाउँछ नै ।
संक्रमण फैलनुअघिको अवधि प्रधानमन्त्री ओली उद्घान, शिलान्यास र आफ्नो सत्ता जोगाउनका लागि विभिन्न तिकिडममै केन्द्रित हुनु परेको थियो । प्रधानमन्त्री ओलीलाई यतिबेला एमसीसी पास गर्ने र आफ्नो सत्ता लम्ब्याउने ध्यान मात्रै छ भन्दा अतियुक्ती नहोला ।
फलस्वरुप यतिबेला मुलुक ठूलो महामारीको भूमरीमा फसेको छ । कोरोना संक्रमित विरामीहरु आइसियु नपाएर छटपटिएरै मृत्युवरण गर्नुपरेका घटनाहरु सार्वजनिक भएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका ७ बामरुकका ६० वर्षिय एक पुरुषको आइसियु नपाएरै मृत्यु भएको घटनाले सरकारले कोरोना नियन्त्रणका लागि गरेको अर्बौं लगानीमाथि नै प्रश्न खडा गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले अत्यावश्यक बेड, आइसियु र भेन्टिलेटर त व्यवस्था गर्न सकेको छैन नै शुरुवाती चरणमै हात उठाएर ‘लज्जास्पद’ व्यावहार प्रदर्शन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ती निकालेर ‘अब अस्पतालमा बेड छैन’ भन्दै नागरिक प्रतिको दायीत्वबाट पञ्छिएको छ । कोरोना नियन्त्रण गर्ने मेडिकल तयारी नगरी ‘निषेधाज्ञा र लकडाउन’ मै सरकार केन्द्रित हुँदा श्रमजिवी वर्ग सबैभन्दा ठूलो शिकार बन्दैछन् । दैनिक ज्याला मजदुरी गरेर परिवारको लालनपालन गर्ने वर्गको बाँच्न पाउने अधिकारमाथि सरकारलाई कुनै प्रवाह छैन । तर, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरु भने ज्यानको प्रवाह नगरी सेवामा खटिएका छन् ।
सरकारले उनीहरुको उचित पारिश्रमिक र नदिएको भन्दै सिभिल अस्पतालका एक डाक्टरले लामो समय आन्दोलन गर्नु परेको थियो । यसले सरकारप्रति नागरिकको मात्रे उत्तरदायीत्व रहेको देखाउँछ । तर, सरकारले नागरिकप्रति गर्नुपर्ने दायीत्वबाट भने पटक पटक भाग्दै आएको छ । महामारीको यो समयमा समेत सरकार नागरिकप्रति बेप्रवाह देखिनु आम नागरिकका लागि भयंकर कष्टकर समय हो । सत्ताको नेतृत्व गर्नेहरुले उद्घाटन, शिलान्यास र एमसिसीको ह्याङओभर छाडेर बेड नपाएर छटपटाउँदै गरेको नागरिकको चित्कार सुन्नेबेला भएन र ?