दाङ, १९ वैशाख । उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेको बताएकी छिन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो । सोही व्यवस्था अनुसार उनले माओवादी केन्द्र रोजेको विज्ञप्तिमा उल्लेख छ ।
२०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन् । उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो । उत्तरकुमार नेकपा एमालेका उम्मेदवार थिए ।
बिमलाले आजैदेखि आफू माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य भएको बताएकी छिन् ।