
काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय अगाडी धर्नामा बसेका प्रदेश सांसदहरुलाई प्रहरीले धरपकड गरेको छ । मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलको सपथ रोक्न माग गर्दै धर्नामा बसेका बहुमत सांसदलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले हातपात गर्दै पक्राउ गरेको हो ।
अल्पमतकै मुख्यमन्त्री बनेका पोखरेलको सपथ गर्नका लागि उनीहरुलाई धरपकड गरिएको बताइएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यालय अगाडी उनीहरु धर्नामा बसेका थिए । उनीहरुले कार्यालय अगाडी नै ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए ।
विपक्षी गठबन्धनमा बहुमत संख्या हुँदाहुँदै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विपक्षीहरुले धर्ना कसेका थिए ।
नयाँ सरकार गठनको लागि आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले अल्पमतका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय पुगेका गठबन्धनका सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन पुगेका हुन् ।