काठमाडौं, २० वैशाख । जब जब मुलुकमा नागरिकहरु महामारीको चपेटमा पर्छन् तब व्यापारीहरु कालोबजारी गर्न अघि सर्छन् । कोभिडको यो मौका छोपेर पनि केही व्यापारीले कालोबजारी गर्न थालेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा केही कम्पनिहरुले २ रुपैयाँको मास्कलाई १० रुपैयाँमा बेचेको फेला पारेको हो ।
विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यु एण्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारको दरले जरिवाना गरेको हो । तीन वटै स्टोरले बिल पारदर्शी नगरेको विभागले जनाएको छ । ती उद्योगलाई उपभोक्ता संरक्षण ऐनको दफा १५ बमोजिम बिलबीजक जारी नगरि ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेकोले ऐनको दफा ३९ (१) क बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको हो ।
विभागले भक्तपुरमा रहेको हिमालयन लाईफ केयर इन्डस्ट्रिजमा पनि अनुगमन गरेको छ । कम्पनिले थोक विक्रेतालाई मास्क प्रति पिस २ रुपैयाँ चार पैसामा उपलब्ध गराउँदै आएको खुलाशा भएको हो ।
कम्पनिले ४५ पिसको प्याकेट बनाइ विक्री गरिरेको पाइएको छ । मास्कको प्याकेटमा एमआरी समेत उल्लेख नगरि विक्री गरेपछि खुद्रा व्यापारीले त्यही मुल्य नराखेको नाममा चलखेल गरेको आरोप छ । त्यही कारण हिमालयनलाई पनि विभागले ५० हजार जरिवाना गरेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई पनि विभागले २ लाख जरिवाना गरेको छ । आइतबार अनुगमनको क्रममा मास्कमा दोब्बर मुल्य लिएर विक्री गरेको पाइएको थियो । यो सर्जिकलले पनि प्रति पिस मास्क ४ रुपैयाँ ४६ पैसामा खरिद गरेर ८ रुपैयाँ ३८ पैसामा विक्री गरेको पाइएको हो । विभागले यतिबेलmा मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाध्यान्नमा केन्द्रित गरि दैनिक ३ वटा समुह बनाएर अनुगमन गरिरहेको छ ।