काठमाडौं, २० बैशाख । कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि नेपाल भारत जोड्ने कैयौं सिमाना नाका बन्द गरीएको छ । तर स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि सरकारले १३ वटा नाका तोकि दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार विदेशी नागरिकको आवतजावतलाई बन्द गरिएको छ भने नेपाली नागरिकको हकमा १३ वटा नाका तोकिएको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कलिवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, दार्चुलाको पुलघरा, बैतडीको झोलाघाटा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिइनेछ ।
यसरी आउने नागरिकको व्यवस्थापन प्रदेश सरकारको समन्वयमा स्थानीय तहले गर्नुपर्ने भनिएको छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गर्नुपर्ने नेगेटिभ आए मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने भनिएको छ ।
नेगेटिभ आए पनि उनीहरु १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ । र, त्यसको अनुगमनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ ।
सरकारले २३ गतेदेखि वैशाख मसान्तसम्मका लागि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको छ भने भारतसँग भने चाहिँ दुईवटा उडान जारी राख्ने निर्णय भएको छ ।