काठमाडौं, २२ वैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल निकै शालिन नेता हुन् । नेताहरु मध्ये तुलनात्मक रुपमा निकै इमान्दार र सबैलाई मिलाउन सक्ने छवि बनाएका नेपाल पछिल्लो समय निकै ‘अफ्ट्यारो’मा छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनी पक्षिय नेता कार्यकर्तालाई भित्तामै पुर्याउने गरि पेल्न थालेपछि सबैलाई मिलाउने नेपाल पार्टी भित्रै विद्रोह गरिरहेका छन् ।
व्यापारीहरुको योजनामा केहीदिनअघि उनलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नागपोखरीस्थित होटल म्यारियटमा वार्तालाप गरे । तर, नेपालले प्रधानमन्त्री ओलीद्वारा चालिएको फागुन २८ को निर्णय फिर्ता लिएर मात्रै वार्तामा बस्न सकिने अडान जारी राखे । प्रधानमन्त्रीको अहमता र अहंकारका विरुद्ध एमाले भित्र ज्वालामूखि भएर निष्किएका नेपाल यतिबेला आफ्नै समुहका नेता कार्यकर्ताको चर्को दबावमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने भन्दै संसद अधिवेशन आह्वान गरेपछि ओलीलाई असफल बनाउन सबैभन्दा अग्रमोर्चामा नेपाल नै देखिएका छन् । तर, संसदीय राजनीतिमा प्रधानमन्त्रीलाई हटाउने गणितीय संख्या उनीसँग छैन । उनको समुहमा रहेका केही सांसद बालुवाटारको शरणमा जाने क्रम बढ्दो छ । अहिले ओलीले विश्वासको मत लिनुअघि नै नेपाल समुहका कम्तिमा २७ जना सांसदले राजिनामा दिए ओली सरकार ढल्छ ।
अहिले प्रतिनिधि सभामा कुल २ सय ६७ जना छन् । यहि संख्यामा निर्वाचन भए बहुमतका लागि १ सय ३७ जना आवश्यक पर्छ । नेकपा एमालेको १ सय २१, नेपाली कांग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९ र जनता समाजवादी पार्टीको ३२ जना सांसद छन् । त्यस्तै राप्रपा, राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीका एक एक जना सांसद छन् ।
नेकपा एमालेका २७ जना सांसदले एकै साथ राजिनामा दिए प्रतिनिधि सभामा एमालेको गणक संख्या ९४ मात्रै हुनेछ । त्यस्तो अवस्थामा सबै दल मिल्दा गणना हुने संख्या २ सय ३९ जनाको हुनेछ ।
बहुमतका लागि १ सय २० जना आवश्यक पर्छ । प्रधानमन्त्री ओलीलाई राजपाको महन्थ ठाकुर समुहको १२ जना सांसदले भोट दिएपनि १ सय ६ भन्दा बढि हुने अवस्था आउँदैन । यता शेरबहादुर देउवा नेतृत्वमा नेकपा माओवादी केन्द्र, राजपाको (उपेन्द्र/बाबुराम) समुहले मत दिए १ सय २८ जना हुनेछ । सोही संख्या यकिन गर्नका लागि सोमबार देउवाको सालो नाता पार्ने प्रदिप शम्शेर जबराको महाराजगञ्जस्थित निवासमा देउवा, प्रचण्ड, नेपाल र उपेन्द्रबीच गोप्य भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा नेपालले आफ्नो समुहबाट १७ जना सांसदले मात्रै राजिनामा दिन तयार रहेको बताएको स्रोतको भनाई छ ।
नेपालले प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा सत्ताच्युत गर्नुपर्ने भन्दै सांसदहरुलाई फकाउँदै आएका छन् । उनीसँग सडक मोर्चामा लडेका केही सांसदले बालुवाटारको शरण लिएपनि केही सांसद अन्तिमसम्म पनि साथमा थिए । माधव समुहमा रहेका २७ जना सांसदले नै सामुहिक राजिनामा दिने विषयमा भने एकमत नभएको स्रोत बताउँछ । २७ जना मध्ये १७ जनाले मात्रै सामुहिक राजिनामाका लागि तयार भएपछि यतिबेला नेपाल समस्यामा परेका छन् । उनीसँग अन्तिमसम्म साथ दिँदै आएका नेता सुरेन्द्र पाण्डेले त सार्वजनिक रुपमै आफूहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने घोषणा गरिसके । तर, सडकमा प्रधानमन्त्री ओलीको चर्को विरोध गरेको अभियोगमा ३ घण्टा हिरासत जीवन विताएकी सांसद रामकुमारी झाँक्रीले ‘हामी त डुब्छौ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड,’ भन्दै सामाजिक सञ्जालमै धम्की दिएकी छिन् । झाँक्री लगायतका सांसद सामुहिक राजिनामा लागि तयार भएको उनको यो भनाईले पनि पुष्टि गर्छ ।
माधव नेपालसँग अति निकट रहेर लामो समय आन्दोलनमै होमिएका विष्णु रिजाल ओली क्याम्पमै लागि सके । योगेश भट्टराई लगायतका नेता पनि ओली अन्ततः ओली समुहमै लाग्ने प्रक्षपण छ । उनीहरुले विश्वासको मतबाट हात झिकेर राजिनामा दिने संभावना कम भएको स्रोतले बतायो । नेपालले सोमबार राणाको निवासमा देउवा, प्रचण्ड र उपेन्द्रसँग १७ जनाले मात्रै सामुहिक राजिनामा दिन तयार रहेको ब्रिफिङ गरेका थिए । ‘माधव नेपालले २७ जनाकै सामुहिक राजिनामा’ दिन सके मात्रै अविश्वासको प्रस्तावसहित नयाँ सरकार गठनको नेतृत्व गर्ने देउवाले निष्कर्श सुनाएको स्रोत बताउँछ । ‘नेपालले कोशिस जारी गर्ने भनेपछि’ हिजो माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सोही समयमा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र ओलीको योजना असफल बनाउने निर्णय गरेको थियो । ५ नेताको दलबलसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति देउवाको निवासमा पुगेका थिए । तर, उक्त भेटमा देउवाले ओलीलाई विश्वासको मत दिन नसक्ने बताएपछि ओलीले अनुहार खुम्च्याएर फिर्ता भएको चर्चा नेताहरुबीच हुन थालेको छ । देउवा निवासमा ‘देउसी’ लिएर पुगेका प्रधानमन्त्री आफ्नै पार्टीका बरिष्ठ नेता नेपाल समक्ष भने झुक्ने पक्षमा छैनन् ।
उनले टेलिफोनबाट सुटुक्क भेट्ने प्रस्ताव त गरेका छन् तर, विगतकै जस्तो प्रधानमन्त्रीले अहंकार देखाउने आंशकामा नेपालले भेट्न अस्विकार गरिरहेका छन् ।