
धादिङ, २४ वैशााख । जिल्ला अस्पताल धादिङका ४० जना भन्दा बढी स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएपछि अस्पतालमा स्वास्थ्यकर्मी अभाव भएको छ ।
कोरोना संक्रमित भएसँगै जिल्ला अस्पतालले तयार पारेको ५० शैप्याको अस्थायी कोभिड अस्पतालमा एक जना डाक्टरको नेतृत्वमो उपचार भइरहेको पाइएको छ । जिल्ला अस्पताल धादिङका अनुसार सबै स्वास्थ्यकर्मी संक्रमित भएपछि संक्रमित स्वाथ्यकर्मीले नै स्वास्थ्य सेवना दिनुपरेको छ ।
अस्पतालले सार्वजनिक गरेको सुचनाका अनुसार डा. सविन भण्डारीको नेतृत्वमा रहेको टिमले संक्रमित विरामीहरुको उपचार गरिरहेका छन् । उनले उपचार गर्ने मात्रै होइन दैनिक १५ वटासम्म अक्सिजन सिलिन्डर बोकेर ३ तले आइसोलेशन भवनका सबै कोठामा पुर्याइरहेका छन् ।
जिल्ला अस्पताल धादिङका सञ्चालक समिति अध्यक्ष महेन्द्र धमलाका अनुसार स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि ओपिडी सेवा बन्द गरिएको छ । आपत्कालिन सेवा मात्रै खुला गरिएको उनले बताए । गाउँपालिकाहरुले समेत विरामी मात्रै रिफर गरिदिने र गर्नाले समस्या बढ्दै गएको उनले बताए ।
‘जनशक्ति अभाव भएपछि हामीले पत्रहरु प्रदेश मन्त्रालय र संघीय मन्त्रालयमा पनि पठाएका छौँ,’ उनले भने,‘हामीले नयाँ भ्याकेन्सी पनि खोलेका छौँ । अहिले कोही पनि आएका छैनन् । अहिलेको अवस्था सबैलाई गाह्रो छ । जिल्ला अस्पतालमा जस्तो स्वास्थ्य प्रविधि गाउँपालिकाहरुमा छैन । त्यसो हुँदा उनीहरुले विरामी रिफर गरिरहेका छन् । गाउँपालिकामा भएको जनस्वास्थ्यकर्मी पनि जिल्ला अस्पतालमा पठाइदिए सजिलो हुने थियो भन्ने मेरो सोच हो ।’
जिल्ला अस्पतालमा यो हविगत हुँदा पनि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले कुनै वास्ता गरेका छैनन् ।

जिल्ला अस्पताल अवस्थित भएको क्षेत्रबाट निर्वाचित भएका नेकपा एमालेका सांसद खेम लोहोनी सत्ता राजनीतिमो खेलमै केन्द्रित छन् । उनी जिल्ला अस्पताल भित्र भएको समस्याको बारेमा भन्दा पनि केन्द्रीय राजनीतिको खेलोमेलोमै लागेको आरोप छ । यद्धपी अध्यक्ष धमला भने केन्द्रीय सांसदले जिल्ला अस्पतालमा जनशक्ति आपूर्तिकालागि सहयोग गरेपनि कोही पनि नआएको बताउँछन् ।