काठमाडौं, २६ वैशाख । केहीदिनअघि पूर्व डिआइजी रमेश खरेलले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेलाई फ्याउरे गुण्डाको संज्ञा दिएका थिए । एक टेलिभिजनमा टेलिफोनबाट उनले यस्तो संज्ञादिएपछि सार्वजनिक चर्चाको विषय समेत बनेको थियो ।
यतिबेला मनाङे र खरेलबीच वाक युद्ध शुरु भएको छ । खेलकुद मन्त्री मनाङगेले मन्त्रालयमै बसेर खरेलप्रतिको गरेको टिप्पणी सार्वजनिक भएको छ । उनले पूर्व डिआइजी खरेलबाट घरकै श्रीमती समेत असुरक्षित रहेको बताएका छन् ।
उनले खरेलको दिमागी हालत विग्रेको आरोप लगाएका छन् ।
‘यसको दिमाग दुरुन्तै क्यारेक्टर बदल्ने खालको छ । यो वीरगञ्जको चिफ हुँदा सिंगम मुभि हेरेर बाटोतिर रिक्सावालाहरुलाई किक हान्दै हिँडेछ । दबंग हेरेर आएपछि बाटोमा झाडु लगाउन शुरु भो,’ उनको टिप्पणी छ,‘यस्तो मान्छेलाई नेपाल सरकारले किन आइजीपी बनाएन होला । खास कारण त्यो हो । नेपालतिर यो दिमागलाई ठूलो मान्दैन तर विदेशतिर यसलाई ठूलो मुद्दा बनाइन्छ ।’
खरेलले फौज भित्र गएर युवाहरुलाई कुट्ने गरेको आरोप समेत उनले लगाए ।
‘अहिले यसलाई रिस उठ्यो भने घरमा भएको स्वास्नी पिट्ने हो । बाहिर कसैलाई कुट्न पाउँदैन । अहिले हैसियत नै छैन,’ उनले भने,‘यसले चुनाव लड्छु भन्यो । मलाई लाग्छ यसले कतै फिल्म हेर्यो । यसले आफूलाई नेता जस्तो ठानेर भाषण गर्दै हिँड्यो । मेरो दाईको क्लास मेट हो । धेरै बानी भएको कारण यो पनि हो ।’
खरेलले चुनाव जितेर कुनै पनि हालतमा नआउने भविष्यवाणी समेत मनाङ्गेको छ । ‘चुनाव जितेर आउँदैन । यसलाई काभ्रे जस्तो ठाउँमा मान्छे नै गन्दैन । खरेलथोक भन्ने ठाउँ यस्तो छ की यसलाई त्यहाँको खरेलले मन पराउँदैन,’ मनाङ्गे भन्छन्,‘तर यो समानुपातिकबाट सांसद बन्न सक्छ । पैसा दिएर सांसद बन्ने हो । सांसद बनेर आएपछि यसले कुनै फिल्म हेर्छ र संसद भवन भित्र यसको कुरा नमान्ने हो भने सबैलाई गोली हान्न सक्छ । यसको विमार नै यस्तो खालको छ । यसलाई उपचारको जरुरी छ । घरमा श्रीमतीलाई पनि जोगाउनुपर्छ । यसले श्रीमतीलाई मार्न सक्छ ।’