विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीको माधव समुहप्रति कटाक्ष : राजिनामा दिनु अपराध !

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहमाथि अपराधको आरोप लगाएका छन् ।


सामूहिक राजीनामा दिने तयारी गरिरहेका नेपाल समुहले राजिनामा दिए ‘अपराध हुने’ भन्दै यस्ता काममा सहभागी नहुन धम्की दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार राष्ट्रपतिद्वारा विशेष अधिवेशन आह्वान गरिएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ। राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ। जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमूख दायित्व आजको पुस्ताको हो।

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन्। यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु।

भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।

धन्यवाद

                                                                                                   केपी शर्मा ओली

                                                                                                       अध्यक्ष

सम्बन्धित खबर