ओलीसामू आत्मसमर्पण गर्दैनाै‌‍‍; भुसाल

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ बैशाख । एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् ।

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।

वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।

यस्तै नेता भुसालले सामाजिक सञ्जालमा समेत विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताएका छन् ।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालको भनाइ छ ।

उनले विगतमा प्रचण्डलाई गाली गरेर जबरजस्त पार्टी विभाजनतिर लैजानेहरु अहिले फेरि झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई पनि विभाजित गर्ने प्रयास गरेको बताएका छन् ।

हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’,उनको भनाई छ ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली असहमत हुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ।

मंगलबार समेत भावी रणनीति बनाउन र पछिल्लो घटनाक्रमको समीक्षा गर्न नेपाल समूहको भर्चुअल बैठक बसेको थियो । सो बैठकमा ओलीलाई विश्वासको मत नदिएर उपयुक्त निर्णय भएको विष्लेषण गरिएको थियो ।

सम्बन्धित खबर