शिक्षण अस्पतालमा विभेद : गम्भिर विरामी गेट बाहिरै छटपटाउँदै, ठूलाबडाका आफन्तलाई बेड !

शिक्षण अस्पतालमा विभेद : गम्भिर विरामी गेट बाहिरै छटपटाउँदै, ठूलाबडाका आफन्तलाई बेड !

काठमाडौं, २८ वैशाख । सोमबार बेलुका आइसियु खोज्दै विभिन्न अस्पताल चहारेपछि धादिङका एक विरामी शिक्षण अस्पतालको कोभिड वार्डमा पुगे । तर, अस्पताल पुग्दा अक्सिजनसहितको बेडै थिएन । उनी अक्सिजन विना बाँच्दैन थिए । विरामीका आफन्तले नै व्यवस्था गरेको अक्सिजन लगाएर उनलाई बाहिर प्रांगणमा राखियो ।


जिल्ला अस्पताल धादिङमा कार्यरत कर्मचारी भएका कारण उनलाई धादिङ अस्पतालले नै उपलब्ध गराएको अक्सिजन दिएर प्रांगणमै राखेको केही घण्टामै अक्सिजन सकियो । वैकल्पिक व्यवस्था हुन सकेन । उनको ज्यानै जाने खतरा भएपछि केहीबेरमा अस्पतालबाहिर ढोकामै अक्सिजनको व्यवस्था गरियो । उनी त्यहीँ बसे । सोमबारको रातभर पानी पर्यो ।


उनीसहित सयौँ विरामी अस्पतालबाहिर चिसो छिँडीमै थिए । उनलाई कुर्न बसेकी श्रीमती सुष्मा पनि चिसो लागेर विरामीकै अवस्थामा पुगिसकेकी थिइन् ।

तर, भित्र कतै बेड संभव थिएन । बेड संभव हुन्छकी भनेर उनका आफन्तहरु भित्रका स्वास्थ्यकर्मीसँग पहल गरिदिन गुहार माग्थे तर, उनीहरुले ‘बेड छैन’ हकार्थे । निमोनिया छातीमा फैलिएका कारण उनलाई ‘आइसियु चाहिन्छ खोज्नुस्’ भन्ने डाक्टरको सिफारिस् थियो ।

‘अक्सिजनसहितको बेडमात्रै भएपनि म बाँच्छु भन्ने’ विरामीलाई लागेको थियो । तर, उनी घरिघरि छटपटाउँथे । डाक्टरलाई बोलाउँदा ‘आइसियु छैन, बाहिर खोज्नुस् भन्ने उत्तर मात्रै दिएर जान्थे । अस्पतालबाहिर राखिएको २४ घण्टासम्म कुनै विशेषज्ञ डाक्टर आएनन् । ढोकै अगाडी भएका कारण अन्य विरामीका आफन्तहरु चिच्याउँदै र रुँदै आउँथे ।


मंगलबार दिउँसो करिब ३ बजेतिर एउटा ट्याक्सीमा एक महिला आफ्नो श्रीमानसहित चित्कार्दै आइन् । राजधानीको जनमत्रै अस्पताल, वीर अस्पताल र पाटन अस्पतालले भर्ना नलिएपछि उनको श्रीमानको ट्याक्सीमै मृत्यु भएको आशंका थियो । डाक्टरहरुले विरामीलाई ट्याक्सीबाट निकाले ।

पल्स नापे केहीबेरमा भित्र लगे । श्रीमानलाई भित्र लगेपछि बाहिर श्रीमतीको रोदन झनै बढ्यो । त्यही दृष्यले यता २४ घण्टादेखि बेड कुरिरहेका विरामीका आफन्तहरुमा विचलन ल्याउँथ्यो । त्यस्तै श्रीमानलाई बेड पाउने आशामा ढोकामै अन्य संक्रमितहरुसँगै कुरिरहेकी सुष्माको आँखाबाट आँशुका ढिक्काहरु बर्सिन्थे । अस्पताल बाहिर बेड कुर्नेहरु यसरी नै आँसु झार्दै बस्थे ।

करिब साढे ५ बजेतिर एभरेष्ट एयरको हेलिकोप्टर शिक्षण अस्पताल नजिकैको प्रांगणमा ल्याण्ड गर्यो । हेलिकोप्टर ल्याण्ड गरेको केहीबेरमा ‘पाकिस्तान सरकारद्वारा सहयोग’ लेखिएको एम्बुलेन्समा एक जना संक्रमित विरामी आइपुगे । ती विरामीलाई लिन अस्पतालका कर्मचारी डा. प्रताप सिंह आफै पुगेका थिए ।

अस्पतालकै कर्मचारीको आफन्त भएका कारण एम्बुलेन्स आउनु अघि नै डाक्टरहरु ‘स्ट्यान्ड बाई’ बसेका थिए । ती विरामीको स्याचुरेशन ९३ थियो । उनी एम्बुलेन्समा ठाडो अवस्थामै थिए ।

‘हेलिकोप्टर भाडा कति तिर्नुभयो, ?’ दियोपोस्टको यो प्रश्नमा विरामीको छोरा बताउने जगत केसीको उत्तर थियो,‘६ लाख तिर्यौँ । दाङदेखि लिएर आएको हो ।’


दाङबाट आएका उनका बुवा देखिँदा गम्भिर प्रकृतिको विरामी थिएनन् । उनको अक्सिजन लेभल ठीकै थियो । एक छिनमा स्टाफ नर्सले हेलिकोप्टरबाट आउने ‘भिआइपी’ विरामीको नाम लेखिन्–हिमलाल केसी’ । त्यतिबेलासम्म उनी ह्विल चियरमै थिए । नाम लेखाउने वित्तिकै ती विरामीलाई भित्र सरासर वार्डमा लगियो । उनलाई केहीबेरमै शिक्षण अस्पतालले अक्सिजनसहितको ‘राम्रो बेड मिलायो । तर, यता अस्पताल गेटमा २४ घण्टादेखि बेड कुरिरहेकी सुष्माको श्रीमानलाई व्यथाले जति च्यापेपनि भित्र बेड पाउने अवस्था थिएन ।

स्वास्थ्य मन्त्रालयकै कर्मचारी रहेका उनको श्रीमान कोभिड अस्पताल निर्माणकै क्रममा संक्रमित भएका थिए । २४ घण्टा विरामीको सेवामा खटिएका धादिङ अस्पतालका उनले न त शिक्षण अस्पतालमा बेड पाए न त त्यहाँ उनको कुनै उपचार नै भयो । मध्यरातमा उनलाई राजधानीको निजि अस्पतालमा सारिएको छ । त्यहाँ पनि उनको अवस्था नाजुक छ ।


सरकारको लगानीमा सञ्चालित शिक्षण अस्पतालमा आफन्त र नातागोताकै विरामीले मात्रै बेड पाउने र उपचार सेवा पाउने दूर्भाग्यपूर्ण दृष्टान्तको यो त एक मात्रै उदाहरण हो । अस्पतालमा आएका अधिकांश विरामी अक्सिजन र बेड नपाएरै मृत्युवरण गर्नुपरेको छ । तर, ठूलाबडा र अस्पतालकै कर्मचारीको आफन्तले भने सहजै बेड पाएका छन् ।

मंगलबार दिउँसो नै शिक्षण अस्पतालको कोभिड वाडमा पुगेका ‘काफ्ले थरका विरामी’ केही बेरमै सुविधा सम्पन्न वार्ड पाउने त्यस्तै भाग्यमानी व्यक्ति हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कुमार काफ्लेका आफन्त भएका कारण उनलाई बेड मिलाइएको थियो ।


‘माथि वार्डमा डाक्टरका फूपाजु, कार्यकारी निर्देशकका दाजु भाई र नातागोताले भरिएको छ,’ एक स्वास्थ्यकर्मचारीले दियोपोस्टसँग भने,‘वार्डमा पनि सबै चिकित्सकलाई आफ्नो विरामीको मात्रै चासो छ । यहाँ अन्य विरामीलाई ‘केयर गर्ने डाक्टर नै छैनन् । स्थिति भयाबह छ ।’

आफन्त र नातागोतालाई मात्रै वार्डमा भर्ति गर्ने शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेश कुमार काफ्लेको मोबाइल नम्बर ९८५१०४१२४८ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Trending News