पाँच पूर्वप्रधानमन्त्रीद्वारा प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोह ‘बहिष्कार’ !

पाँच पूर्वप्रधानमन्त्रीद्वारा प्रधानमन्त्री केपी ओलीको सपथग्रहण समारोह ‘बहिष्कार’ !

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औँ प्रधानमन्त्रीको रुपमा पुन सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले उनकै निवास शितल निवासमा सपथग्रहण गराएकी हुन् ।

सपथग्रहण सभामा उपस्थित हुनुपर्ने नेपालका भूतपुर्व प्रधानमन्त्रीहरुले सामुहिक बहिस्कार गरेको पाइएको छ ।


पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनालले सामुहिक बहिष्कार गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता डा. रुपनारायण भट्टराईका अनुसार सबै भूतपूर्व प्रधानमन्त्रीलाई शितल निवासले निमन्त्रणा गरेको थियो । ‘हामीले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निमन्त्रणा गरेका थियौँ । उहाँहरु आउनु भएन । कोभिडका कारणले आउनु भएन,’ भट्टराईले भने ।


उनका अनुसार सपथग्रहण सभामा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्नि प्रसाद सापकोटा भने सहभागी भएका थिए । सत्ता समिकरण फेरबदल र विवादका कारण उनीहरुको उपस्थितिलाई लिएर विभिन्न आशंका गरिएको थियो ।


नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार आज विहानै ‘आफूहरु सहभागी नहुने’ जानकारी शितल निवासमा पुगेको थियो । ‘अरु त्यस्तो केही कारण होइन । कोरोनाको कारण हो । बहिष्कार पनि होइन,’ देउवाले दियोपोस्टसँग भने ।


देउवा निवासमै पदाधिकारी बैठक राखेर राजनीतिक सक्रियता देखाइरहेका देउवा प्रधानमन्त्री ओलीको गतिविधिसँग असन्तुष्ट छन् । नेकपा एमाले भित्र माधव नेपाल समुहले राजिनामा दिए प्रधानमन्त्री बन्ने तयारीमा लागेका उनलाई नेपालले धोका दिएको चर्चा हुन थालेको छ ।


यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको पछिल्लो कार्याशैली प्रति सन्तुष्ट छैनन् । संसद विघटन गरेदेखि नै ओली विरुद्ध सडक आन्दोलनमा उत्रिएका उनीहरुबीच राजनीतिक संवादहिनताको अवस्था छ ।

यस्तो अवस्थामा सपथ ग्रहणमा निम्ता आए पनि बहिष्कारका लागि कोरोना महामारी गतिलो बहाना बनेको उच्च स्रोत बताउँछ ।

यता प्रधानमन्त्री ओलीसँग वारपार लडाइँपछि वार्ता गर्दै सत्ता सहकार्यसम्म पुगेका माधव नेपालले पनि नाटकीय बहिष्कार गरेका छन् ।

विहिबार एक विवादास्पद व्यापारीको घरमा ओलीसँग कुम जोडेर वार्ता गरेका उनी पनि कोरोना महामारीकै कारण देखाएर सपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।


त्यस्तै झलनाथ खनाल पनि सपथग्रहण समारोहमा सहभागी भएनन् । उनी माधव समुहले केपी ओलीसँग सत्ताको घाँटी जोडिदिएपछि बिलखबन्दमा परेका छन् । कोरोना संक्रमणका कारण घरमै आराम गरिरहेका खनाल पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन छन् ।


त्यस्तै आफ्नै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षको उपमा पाएका डा. बाबुराम भट्टराई पनि सपथग्रहण समारोहमा गएनन् ।

बाबुरामका पार्टीका सांसदहरुलाई विहिबार नाटकीय रुपमा रिसोर्टमा थुनेर प्रधानमन्त्री केपी ओलीले सत्ताको सपथ लिएकोमा उनी पनि असन्तुष्ट नै छन् । यद्धपी कोरोना ‘महामारी’ भन्दै उनले पनि सपथ बहिष्कार गरेको उच्च स्रोतले बतायो ।

Trending News