
काठमाडौं, २ जेठ । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरलाई काठमाडौं ल्याउनका लागि काम भइरहेको उनले जानकारी दिए।
नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस् भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।
उता तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनको खासास्थित नाल्यम भन्सारबाट सामान अगाडि बढेको अनौपचारिक जानकारी आएको र त्यो सामान भरे साँझसम्म सीमाक्षेत्रमा आइपुग्ने बताए ।
साथै निजी क्षेत्रले मगाएको ७५ सय अक्सिजन सिलिण्डर पनि आएको भन्ने अनौपचारिक जानकारी रहेको उनले बताए ।
चीन सरकारले उपलब्ध गराएको सिलिण्डर कति परिमाणमा आएको भन्ने जानकारी पनि नभएको उनले बताए ।
सीमामा आएको सामान तुरुन्त अनलाइन मार्फत जानकारी हुने र त्यसलाई छिटो प्रक्रियाबाट काठमाडौ पठाइने बताए ।
सबै कुरा सहज भए भोलिसम्म ती सामग्री काठमाडौ पुग्छ उनले बताए ।
नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेका बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्नेछ ।
यसै गरी सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्टदेखि देशका विभिन्न ठाउँमा प्रयोग विहीन अक्सिजन सिलिण्डर जम्मा गरिरहेको छ ।
विदेशमा रहेका नेपालीले पनि नेपालमा अक्सिजन ग्यास पठाइरहेका छन् ।
हिजो मात्रै खाडी मुलुकमा रहेका नेपालीहरुले ५६० अक्सिजन सिलिण्डर नेपाल पठाइ सकेका छन् ।