काठमाडौं, २ जेठ । दोश्रो चरणको खोप लगाउने विषयमा संघीय संसद भवन नयाँ बानेश्वरमा तनाव भएको छ ।
संघीय संसद सचिवालयको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने सिलसिलामा तनाव उत्पन्न भएको हो ।
संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्तहरू समेत खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो ।
लगाउन ल्याइएको खोप संख्याभन्दा उल्लेख्य रूपमा भीड बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउन रोकेको छ ।
संसद सचिवालयले आजका लागि ८ सय डोज खोप मागेको भएपनि ३ सय डोज खोप मात्र ल्याइएको जनाइएको छ ।
सो ल्याएको खोप समेत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका कर्मचारीले लगाउन मानिरहेका छैनन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबाबू खड्काको निर्देशनमा खोप लगाउन रोकिएको स्रोतको भनाई छ ।
खड्काले सांसदका लागि पठाइएको खोप अरूलाई नलगाउन निर्देशन दिएपछि स्वास्थ्यकर्मीले खोप लगाउन रोकेका छन् ।
बिहानैदेखि लाइन बसेका सांसद तथा पूर्वमन्त्रीले समेत खोप लगाउन पाएका छैनन् ।
साथै लाइन बसेका अन्य व्यक्तिहरू खोप लगाउन नपाएपछि आक्रोशित बनेका छन् ।
संसद सचिवालयले २ दिन अघिदेखि सांसद कर्मचारी तथा मर्यादापालक तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि दोश्रो डोजको खोप लगाउने कार्यक्रम राखेको थियो ।