काठमाडौं, ६ जेठ । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
पाँच टन सामाग्री सहित चार्टर जहाज भर्खरै विमानस्थलमा अवतरणा भएको र सो सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले हस्तान्तण गरेको हो ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ ।
सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहितको टोली नेपाल आएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गए पछि स्वास्थ्य सामाग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै यो सामाग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको डाइरेक्टर सोलिमनले बताए । बुधबार मात्र २४६ जनाको मृत्यु भएको थियो ।
यता बिहिबार चीन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताएका थिए ।