प्रचण्ड र माधव नेपाल पुगे देउवाले बोलाएको सर्वदलीय बैठकमा

दियो पोस्ट  

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन्। प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि छन्।

बैठकमा भाग लिन जनता समाजवादी पार्टी जसपाका नेता मोहम्मद इश्तियाक राई पनि देउवा निवास पुगेका छन्।

‘उहाँहरू केहीबेर अगाडि आइपुग्नु भएको हो। अब सर्वदलीय बैठक सुरू हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बिहीबार थोरै समय दिएर दलहरूलाई आह्वान गरेकी थिइन्। उक्त समय आज अपरान्ह ५ बजेसम्म मात्रै छ।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई रराजीनामा नदिई नयाँ उपधाराअनुसार राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले कदम चालेको आरोप कांग्रेसको छ।

आज देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि सबै विकल्प खुला राखेर अरू दलसँग छलफल गर्ने निर्णय भएको थियो भने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे छलफल भएको थियो।

राष्ट्रपतिले संविधानविपरीत काम गरेकोले यसबारे के गर्ने भन्ने दलहरूसँग छलफल गरी निर्णयमा पुगिने एक नेताले बताएका छन्।

सिफारिस