काठमाडौं, ११ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणको महामारी छ । अस्पतालमा बेड अक्सिजन र आइसियु छैनन् । अक्सिजन नपाएरै सयौँ नागरिकले मृत्युवरण गरिहेका छन् ।
यस्तो दुखःद अवस्थामा नेपाली कलाकारहरुले विभिन्न माध्यमबाट सहयोग जुटाइरहेका छन् । नेपालमा निषेधाज्ञा घोषणा भएपछि अमेरिकामै बस्न बाध्य भएका चर्चित गायक रामकृष्ण ढकालले अमेरिकामै सहयोग संकलन अभियान थालेका छन् । उनले नेपालमा अक्सिजन लगायत अत्यावश्यक वस्तु खरिदका लागि संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन् ।
सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल नेपालमा निषेधााज्ञा लागु भएपछि उतै रोकिएका थिए । ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो,’ ढकालले भने,‘उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ ।’
ढकालको अनुरोधमा अमेरिकामा रहेका नेपाली तथा नेपालभाषी भुटानीहरुले आर्थिक सहयोग गरेका थिए । पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ डलर अर्थात १८ लाख रुपैयाँ वैज्ञानिक अभियान्ता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा हिमालयन बैंकको खाता ०१९०६३२२०६००१७ मा जम्मा गरिएको हो । ढकालका अनुसार अझै पनि धेरै व्यक्तिहरुले सहयोगको ईच्छा देखाएका छन् ।