पूर्व सभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा

दियो पोस्ट  

काठमाडौं, ११जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन् ।

मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।