चार्टर फ्लाइटमा सोसाइटी ट्राभलको लुट : दूतावासको सेटिङमा १ लाख ६० हजारसम्म असुली !

दियो पोस्ट  

काठमाडौं, १२ जेठ । काठमाडौंस्थित भारतीय दूतावाससँगको सेटिङमा हात्तीसारमा रहेको सोसाइटी ट्राभल्सले भारतीय यात्रुसँग अत्याधिक चर्को रकम लिएर साउदी अरेबिया पठाउने गरेको पाइएको छ ।


दूतावाससँगको सेटिङमा सोसाइटी ट्राभल्सले साउदी अरब जाने भारतीय यात्रुसँग प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँसम्म शुल्क असुलेको पाइएको हो ।


जबकि नेपाल सरकारले भने नेपालमा अलपत्र परेका भारतीय यात्रुलाई साउदी अरब जाने प्रयोजनका लागि अघिल्लो साता १० वटा उडान गर्न अनुमति दिएको थियो । उडान अनुमति दिँदा साउदी अरबका तीन शहर जानका लागि अधिकतम ९८ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकेको थियो ।

नेपाल सरकारसँग समन्वय गरी दुईवटा नेपाली एअरलाइन्सलाई शुल्कको अधिकतम सिमासहित उडान अनुमति दिएको भएपनि भारतीय दूतावासका कर्मचारी र केही ट्राभल एजेन्सीको मिलेमतोमा यात्रुबाट अत्याधिक चर्को शुल्क लिइएको हो ।


हात्तीसारमा रहेको सोसाइटी ट्राभलले साउदी अरेबिया जाने यात्रुबाट १ लाख ६० हजारसम्म शुल्क असुल गरेको पाइएको हो ।


भारतीय दूतावासकै फेसबुक पेजमा विज्ञापन गर्न लगाएर हात्तीसारमा रहेको सोसाइटी ट्राभलका सञ्चालक सुनिल शर्मा हुन् ।

भारतीय दूतावासको आधिकारिक फेसबुक पेज india in Nepal (Embassy of India Kathmandu) मा मे १७ को साँझ ६ः०८ मा एउटा सुचना पोष्ट गरिएको छ । जुन पोष्टमा भारतीय नागरिकका लागि साउदी अरब जाने चार्टर्ड फ्लाइटबारे उल्लेख गरिएको छ । उक्त पोष्टमा साउदी अरब जान योग्य व्यक्तिले नेपाल एअरलाइन्सबाट जाने हो भने सुनिल शर्मा र उनको मोबाइल ९८०१०२१५५५ र हिमालय एअरलाइन्सबाट जाने हो भने सुनिता महर्जन ९८०१०५५७०६ मा सम्पर्क गर्न भनिएको छ ।


जबकि सुनिल शर्मा भनेर नाम दिइएको व्यक्ति नेपाल एअरलाइन्सका कर्मचारी नभएर उनी हात्तीसारस्थित सोसाइटी ट्राभल्सका सञ्चालक हुन् । त्यसैगरी सुनिता महर्जन पनि सोसाइटी ट्राभल्सकै कर्मचारी हुन् ।

हाल नेपाल सरकारले साउदी अरबका लागि थप चार्टर्ड उडानको अनुमति नदिएको भएपनि अहिले यो ट्राभल एजेन्सीले यात्रुको बुकिङ भने लिइरहेको छ । अब फेरि पनि चार्टर्ड फ्लाइट खुल्ने भन्दै उनीहरुले यात्रुलाई बुकिङ गर्न भनिरहेका छन् ।


सोसाइटी ट्राभल्सले गतवर्ष पनि जापानबाट नेपाली यात्रु ल्याउने प्रयोजनका लागि नेपाल एअरलायन्सको जहाज चार्टर्ड गरेको थियो । उक्त समयमा यात्रुबाट अत्याधिक चर्को शुल्क लिएको प्रमाणित भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरेको थियो । छानबीनका क्रममा मन्त्रालयले उद्दार उडा नै रद्द गरेको थियो ।

नेपाल एअरलाइन्सले आफ्नो काउण्टरबाट नै टिकट काटी सहजता प्रदान गरेको भएपनि सोसाइटी ट्राभलले यात्रुसँग महङ्गो शुल्क लिएर टिकट काटिरहेको छ । जबकि सोसाइटी ट्राभललाई नेपाल एअरलाइन्सले टिकट काट्ने अनुमति नै दिएको छैन ।


त्यसैगरी हिमालय एअरलाइन्सले पनि आएटामा आवद्ध भएका सबै ट्राभल एजेन्सीहरुलाई टिकट काट्न मिल्ने गरी खुला गरेको सूचना प्रकाशन गरेको छ । तर आएटाको सिस्टममा साउदी अरब जानका लागि प्रतिव्यक्ति १ हजार ६ सय अमेरिकी डलर अर्थात् १ लाख ८७ हजार मूल्य राखिएको छ । तर नेपाल सरकारले तोकेको मूल्य भने १ लाख रुपैयाँभन्दा तल नै रहेको छ । यद्धपी ट्राभल एजेन्सीसँगको सेटिङमा हिमालय एअरलाइन्सले सबैलाई खुल्ला गरेकोजस्तो देखाएपनि सोसाइटी ट्राभलसँगको मिलेमतोमा प्रतियात्रु ८ सय अमेरिकी डलरमा टिकट विक्री गरिरहेको छ । ८ सय डलरको नेपाली मूल्य ९३ हजार रुपैयाँ मात्रै हुन्छ ।

सुनिल शर्मा


कुटनीतिक नियोगको फेसबुक पेजमा किन निजी ट्राभल एजेन्सीको नाम र मोबाइल नम्बर राखेर विज्ञापन गरिएको हो भन्ने प्रश्नमा दूतावासका सञ्चार हेर्ने सचिवले यसबारे आफूलाई केही जानकारी नभएको र किन त्यस्तो भएको हो बुझेर मात्रै जवाफ दिन सक्ने बताए ।


यद्यपि सोसाइटी ट्राभलका सञ्चालक सुनिल शर्मा भने अहिले पनि दूतावासले भारतीय नागरिकलाई साउदी उडाउनका लागि आफूलाई अनुमति दिएको र त्यसका लागि नेपाल एअरलाइन्स र हिमालय एरअलाइन्सले चार्टर्ड फ्लाइटको जिम्मा आफूलाई दिनुपर्ने भन्दै दिनहुँ नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको कार्यालय धाउने गरेका छन् ।

सिफारिस